वीरगञ्ज। पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदैछ ।
वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज बिहान नेपाल आर्मी क्लब र पर्सा–११ ले प्रतिस्पर्धा गर्नेछन् भने दिउँसो हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र भारतको वान्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालका चार र भारतका दुुई क्लब गरी छ समूहको सहभागिता रहेको प्रतियोगिताका लिग चरणका सबै खेल जितेर शिर्ष स्थानमा रहँदै आर्मी क्लबले सेमिफाइनलमा प्रवेश गरेको हो । लिग चरणका चार खेल जितेको पुलिस दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ ।
लिग चरणमा पाँचमध्ये दुई खेलमात्र जितेको वान्डर्स क्लब नोइडाले नेटरन रेटमा पर्सा–११ र नेपाल एपिएफ क्लबलाई पछि पार्दै अङ्क तालिकामा चार अङ्कका साथ तेस्रो स्थानमा रहेको छ । योसँगै नोइडाले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।
























