एमालेमा बढ्दो अराजकता र अनुशासनहीनताले चिन्तामा ओली

काठमाडौं । एानलेलाई निकै अनुशासन र सुदृढ संगठन भएको पार्टी मानिन्छ । अन्य राजनीतिक दलको तुलनामा एमालेमा अराजकता कमै छ । कुनै विषयमा प्रतिवाद गर्नुपरेमा एमालेका सबै नेता एक भएर लाग्छन् ।

पार्टीका अध्यक्ष केपी ओलीले जे भन्यो अरुले त्यसलाई हत्तपत्त काट्न सक्दैनन् । ओलीको निर्णय नै अन्तिम हुन्छ । उनले जे भन्यो त्यही पार्टीको निर्णय हुन्छ ।

पार्टीका निर्णय पनि ओलीको एकल स्वविवेकका आधारमा हुन्छ । त्यसका लागि ओलीले बैठक गरेर निर्णय लिनुपर्दैन । बरु ओलीले निर्णय गर्छन्, त्यसलाई औपचारिकता दिन पार्टीको बैठक बस्ने परम्परा छ ।

यति कठोर अनुशासनमा राख्दा पनि एमालेमा अराजकता र अनुशासनहीनता बढ्दै गएको ओलीले निष्कर्ष निकालेका छन् । त्यो कुरा उनले मंगलबार पार्टी कार्यालयमै आयोजित कार्यक्रममा व्यक्त गरे ।

एमालेका ६ जना केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाएपछि बधाई र शुभकामना दिने क्रममा ओलीले पार्टीमा अराजकता र अनुशासनहीनता बढेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।ओलीले पार्टीभित्र अराजकता र अनुशानहीनता स्वीकार्य नहुने स्पष्ट पार्दै आगामी वर्ष पार्टीका लागि शुद्धीकरण र सुदृढीकरणको वर्ष हुने बताए। ओलीले पार्टीमा सद्भाव र एकता जरुरी रहेको पनि बताए।

उनले नयाँ केन्द्रीय कमिटी सदस्य वैचारिक र सूचनाका दृष्टिले निरन्तर अध्ययनबाट आफूलाई अद्यावधिक गर्न, व्यवहारमा अनुकरणीय बन्न र हरेक दृष्टिकोणबाट योग्यताका साथ पार्टीको निर्णायक तहमा भूमिका निर्वाह गर्न निर्देशन दिए ।

आफूसँग कुनै सल्लाह र छलफल नगरी निर्णय हुने गरेकोमा ओलीको असन्तुष्टि रहेको आकलन गरिएको छ । शपथ समारोहमा महासचिव शंकर पोखरेल पनि सहभागी थिए । पछिल्लो समय ओली र पोखरेलबीच सम्बन्ध हार्दिकता छैन ।

दुई तीनवटा पार्टीका निर्णयमा ओलीले हस्तक्षेप गरेपछि पोखरेल असन्तुष्ट छन् । पोखरेललाई इंगित गर्दै ओलीले यस्तो चेतावनी दिएको एमाले नेता कार्यकर्ताको ठम्याइँ छ ।