काठमाडौं । सरकारले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको छानबिन गर्न विमान दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रीपरिषद् बैठकले ४५ दिनभित्र प्रतिवेदन पेस गर्नेगरि ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको उनले बताए ।
आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक सुदीप भट्टराई र श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् ।
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्स ९ एन—एएमई/सिआरजे२०० विमान रनवे ०२ बाट उडान भर्ने क्रममा रनवे २० को पूर्वतर्फ दुर्घटना भएको थियो ।
१९ जना सवार विमानमा १८ जनाको मृत्यु भएको थियो । उक्त जहाजका पाइलट मनिषरत्न शाक्य भने बाँच्न सफल भएका छन् । उनको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सरकारले दुर्घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।मन्त्रिपरिषद वैठकले जहाज दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।




















