काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले भविष्य हेरेर मतदान गर्न आग्रह गरेका छन्।
‘आफ्नो भविष्यको भलाइ हेरेर मतदान गर्नुहोस्। उम्मेदवार कस्ता छन् पनि हेर्नुहोस्,’ सिंहले भने, ‘दान भनेको भलाइका लागि गर्ने हो। मतदान भविष्यको भलाइका लागि गर्नुहोस्।’
गणेशमान सिंहको १०८ औं जन्मजयन्तीमा आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेस नेतृत्वमा रहेको गठबन्धनले संविधानको रक्षा गरेको बताए।
उनले गणेशमान सिंहको राजनीतिक जीवन संघर्षपूर्ण रहेको पनि बताएका थिए।
‘तत्कालीन राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि तपाईं प्रधानमन्त्री हुनुस् भन्नुभएको थियो तर गणेशमान मान्नुभएन,’ उनले भने, ‘उहाँले त्यसबेला प्रधानमन्त्रीमा कृष्णप्रसाद भट्टराईलाई सिफारिस गर्नुभयो, यसको सन्देश के हो भने राजाले चाहेकोभन्दा जनताले चुनेको व्यक्ति प्रधानमन्त्री हुनुपर्छ भन्ने थियो।’
‘१५ वर्षभन्दा बढी जेल र १५ वर्षभन्दा बढी निर्वासित जीवन बिताउनुभएको थियो। प्रजातन्त्र ल्याउनुमा उहाँको कति धेरै योगदान रहेछ भन्ने यसबाट पनि बुझ्न सक्छौं,’ उनले भने।
गणेशमानले १५ वर्षभन्दा बढी जेल जीवन बिताएको उनले बताए।
























