काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म ६ निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको छ ।
अहिलेसम्म कांग्रेसले तीन, एमालेले एक र राष्ट्रिय स्वतन्त्र पार्टीले एक सिट जितेका छन् ।
काठमाडौंका १० मध्ये तीन क्षेत्रको रिजल्ट आइसकेको छ । जसमध्ये काठमाडौं १ मा कांग्रेस नेता प्रकाशमान सिंह विजयी भएका छन् । काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन् । अझै आठवटा निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ ।
मतगणनाअनुसार नेपाली कांग्रेसले चारवटा निर्वाचन क्षेत्रमा अग्रता हासिल गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले तीन र एमालेले एउटा निर्वाचन क्षेत्रमा अग्रता हासिल गरेको छ । कांग्रेसले अग्रता हासिल गरेका निर्वाचन क्षेत्रमा काठमाडौं ३, ४, ५ र १० छन् ।
अघिल्लो निर्वाचनमा कांग्रेसले काठमाडौंका चार निर्वाचन क्षेत्र जितेको थियो । यसपटक थप एउटा जितेर पाँचवटा हात पार्ने देखिएको छ ।
काठमाडौं ३ मा सन्तोष चालिसे, ४ मा महामन्त्री गगन थापा, ५ मा प्रदीप पौडेल र १० मा राजेन्द्रकुमार केसीले जित्ने प्रबल सम्भावना छ ।
काठमाडौं ४ मा त अबको केही बेरमै मतगणना सकिने भएको छ । कांग्रेस महामन्त्री थापा एमालेका राजन भट्टराईभन्दा ५५ सय मतले अगाडि छन् । उनले १९ हजार मत ल्याइसकेका छन् ।
कांग्रेसपछि काठमाडौंमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले जबर्जस्त प्रदर्शन गरेको छ । सो पार्टीले काठमाडौंमा चारवटा निर्वाचन क्षेत्र जित्ने देखिएको छ ।
अहिले सो पार्टीका उम्मेदवार काठमाडौं २, ६ र ७ मा अगाडि छन् ।
अझै पनि धेरै मत गन्न बाँकी रहेकाले परिणाम कस्तो आउँछ भन्न सकिन्न । यद्यपि विगतको निर्वाचनभन्दा यसपटक कांग्रेसले काठमाडौंमा सानदार प्रदर्शन गरेको भने निश्चित हो ।
देशकै संघीय राजधानी काठमाडौंमा कांग्रेसले मतदाताको मन जित्नु धेरै महत्वपूर्ण कुरा हो ।




















