यि हुन् चर्चमा रहेर पराजित भएका नेताहरू

काठमाडौँ। आमनिर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी रहँदा केही चर्चित उम्मेदवारले हारको सामना गर्नुपरेको छ। काठमाडौँको तीनवटा निर्वाचन क्षेत्रको परिणाम आउँदा रवीन्द्र मिश्र, डा.राजन भट्टराई, रमेश खरेल, मिलन पाण्डे र पुकार बमले हार बेहोरेका छन्।

 

मिश्र, भट्टराई र पाण्डे आमनिर्वाचन २०७४ मा समेत चर्चित थिए। खरेल भने आफैँ दल दर्ता गरी पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए।

 

निर्वाचन आयोगका अनुसार काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित भएका छन् ।

 

वरिष्ठ उपाध्यक्ष पोखरेल यसअघि २०७४ को आमनिर्वाचनमा काठमाडौँ–५ बाटै निर्वाचित भएका थिए। सो निर्वाचनमा उनले नेपाली कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरेका थिए।

 

काठमाडौँ–४ मा नेकपा (एमाले)का राजन भट्टराईले १३ हजार ८५५ मत ल्याएका छन्। उनलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २१ हजार ३०२ मत ल्याएर पराजित गरेका हुन्।

 

आमनिर्वाचन २०७४ को अपेक्षा भट्टराईले करिब चार हजारभन्दा बढी मत गुमाए। उनले यसअघिको निर्वाचनमा १८ हजार १४० मत पाएका थिए। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भट्टराई परराष्ट्र सल्लाहकारको भूमिकामा लामो समय रहे।

 

काठमाडौँ–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका रवीन्द्र मिश्र लगातार दोस्रो पटक नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहसँग पराजित भएका छन्।

 

उनले आमनिर्वाचन २०७४ मा विवेकशील साझा पार्टीबाट उम्मेदवारी दिएका छन्। उक्त निर्वाचनमा ८१८ मतले पराजित भएका मिश्रले यस पटक मात्र १२५ मतले हारको सामना गर्नुपरेको हो।

 

विवेकशील साझा पार्टीले स्थानीय निर्वाचन २०७९ मा अपेक्षाकृत परिणाम दिन नसकेपछि मिश्रले दलसँगै विचारसमेत परिवर्तन गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध थिए। उनलाई काठमाडौँ–१ का मतदाताले जनप्रतिनिधिका रूपमा पुनः अस्वीकार गरेका हुन्।

 

सोही क्षेत्रबाट नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेलसमेत उम्मेदवार थिए। उनले दुई हजार १३० मत प्राप्त गरेका छन्।

 

अर्का चर्चित युवा मिलन पाण्डेले समेत लगातार दोस्रो पटक हार बेहोर्नु परेको छ।  विवेकशील साझाका पाण्डे काठमाडौँ–९ बाट उम्मेदवार थिए। उनलाई नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठले पराजित गरेका हुन्।

 

काठमाडौँ–९ बाट २०७४ को निर्वाचनमा तेस्रो सर्वाधिक मत पाएका पाण्डेले आमनिर्वाचन २०७९ मा पाँचौँ स्थानमा पुगेका हुन्। उनले दुई हजार ३२७ मत पाएका छन्। अघिल्लो निर्वाचनमा उनले चार हजार ९४६ मत पाएका छन् ।

 

काठमाडौँ–९ मा ११ हजार ९५६ मत ल्याएर निर्वाचित श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई पराजित गरेका छन्। पोखरेलले दस हजार ९६१ मत ल्याएका छन्।

 

निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहँदै नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टीका थुप्रै चर्चित नेता मतगणनामा पछाडि परेका छन्।