चौतर्फी विरोध र आलोचना खेप्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ब्याचलर (स्नातक) को अन्तिम वर्षको नतिजा प्रकाशित नगरी मास्टर्स (स्नातकोत्तर) को भर्ना सूचना निकालेपछि यसको चौतर्फी विरोध र आलोचना भएको छ।

 

त्रिविले गत बुधबार स्नातकोत्तर तह प्रथम सेमेष्टरको भर्ना कार्यक्रम सार्वजनिक गरेको थियो। सूचनामा त्रिविका मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन अन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष २०७९।०८० का लागि स्नातकोत्तर तह प्रथम सेमेष्टरको नयाँ भर्ना तालिका उल्लेख छ। जसमा आवेदन फाराम वितरण र बुझाउने समय पुस ५ गतेदेखि माघ ४ गतेसम्म तोकिएको छ।

प्रवेश परीक्षा तथा भर्ना सम्बन्धी अन्य विस्तृत जानकारी सम्बन्धित डिनको कार्यालयले निर्धारण गरेअनुसार हुने उल्लेख छ। ‘कक्षा सञ्चालन माघ २२ गतेदेखि हुने छ, विद्यार्थीले प्रवेश चाहेको प्रत्येक संकाय अध्ययन संस्थान र विषय अनुसार क्याम्पसमा बेग्लाबेग्लै आवेदन फाराम बुझाउनुपर्ने छ। आवेदन दिँदा फारामसँगै हालसालै खिचेको फोटो र ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि बुझाउनुपर्ने छ’, सूचनामा भनिएको छ।