बादलका छोरा प्रतीकलाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं । एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न पुर्जी दिएको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहलाई सहयोग गरेको आरोपमा थापाविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको भनिएको थियो । बुबा गृहमन्त्री भएका बेला प्रतीकले मानव बेचबिखन गिरोहबाट आर्थिक लाभ लिएर अनुचित कार्य गरेको प्रहरीले प्रमाण जुटाएकाले पक्राउ पुर्जी जारी गरिएको स्रोतले बतायो। नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्चपदस्थहरु धमाधम पक्राउ पर्न थालेसँगै उनी फरार छन् ।

एमाले उपाध्यक्ष बादल गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेका थिए । सो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित १२ जना थुनामा छन् ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेका एमाले निलम्बित सचिव टोपबहादुर रायमाझी फरार छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझीले आफूले अनुसन्धानमा सघाउने भन्दै प्रहरी महानिरीक्षक बसन्तराज कुँवरलाई फोन गरेका थिए । उनका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् । सन्दीप र प्रतीक मिलेर ठगीधन्दा सुरु गरेको प्रहरीको अनुमान छ ।

प्रहरीले गिरोहसँग उठबस गरेको आधारमा कांग्रेस रामेछापका पूर्वसभापति आङ्टावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।