फरारकाे ११ औँ दिनमा यसरी पक्राउ परे टाेपबहादुर रायमाझी

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा प्रतिव्यक्ति १० लाखदेखि ५० लाखसम्म असुल्ने गिरोहमा संलग्न भई बैशाख २० गते पक्राउ पुर्जी जारी भएका नेकपा (एमाले)का सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आइतबार साँझ पक्राउ परेका छन् । उनी कपिलवस्तु हुँदै भारत भागेको भन्ने विभिन्न अड्कलबाजीकाबीच पक्राउ पुर्जी जारी भएको ११ औं दिनमा काठमाडौंको बुढानिलकण्ठबाट प्रहरीको नियन्त्रणमा आएका हुन् ।

बैशाख २० गते प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै दिनभरी एक कार्यक्रममा अतिथि रहेका रायमाझी सोहीदिन सभामुख घिमिरेसँगै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवावाट काठमाडौं फर्किने गरी जहाजको टिकट काटेको भए पनि विमानस्थलमा पक्राउ पर्ने डरले त्यहीँबाट फरार भएका थिए ।

विमानस्थल नपुग्दै बुटवलबाट फरार भएका रायमाझीबारे विभिन्न समाचार सार्वजनिक हुँदै गर्दा प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । बैशाख २२ गते भने प्रहरीले उनको निवास रहेको सातदोबाटोमा खानतलासी गरेको थियो ।

बिहीबार यही प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको थियो भने एमालेकै उपाध्यक्ष रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई र तत्कालीन गृहसचिव रही उपराष्ट्रपतिको कार्यालयमा कार्यरत बहालवाला सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको थियो ।

त्यसैगरी बुधबार नै टोपबहादुरका छोरा सन्दीपलाई बुटवलबाटै पक्राउ गरेको थियो । प्रतिपक्षी एमालेले आफ्नो पार्टीका नेताहरुविरुद्ध इगो साँधेको आरोप लगाएको र सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका केही कार्यकर्ताहरुले पनि प्रधानमन्त्री र गृहमन्त्री नेकपा (माओवादी केन्द्र)को भएका कारण कांग्रेसका नेतालाई मात्र टार्गेटमा राखेको आरोप लगाइरहेका बेला एकालेका सचिव रायमाझी आइतबार साँझ पक्राउ परेका हुन् ।

प्रहरी श्रोतका अनुसार अनुसन्धान र कार्यक्षमतामा प्रहरीको आलोचना भए पनि फरार रहेका रायमाझीलाई प्रहरीले तीब्र खोजीको सूचीमा राखेको थियो । शनिबारदेखि भने प्रहरीले उनको फोनसमेत ट्रयाकमा लिएको थियो । रायमाझी शनिबारमात्र काठमाडौं प्रवेश गरेको सूचना प्रहरीले पाएको थियो ।

रायमाझी काठमाडौं प्रवेश गरेको थाहा पाएदेखि  नै प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनको निगरानीलाई तीब्रता दिएको थियो । सोही निगरानीको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको छ ।

रायमाझीसहित यो प्रकरणमा पक्राउ पर्नेहरु १३ जना पुगेका छन् । अब प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेकाहरुमा कांग्रेसका नेता तथा २०७० सालमा रामेछाप–१ बाट निर्वाचित संविधानसभा सदस्य आङ्टावा शेर्पा र इन्द्रजितका छोरा निरज राई  फरार सूचीमै रहेका छन् ।