आज बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, मन्त्रालय थप्ने गृहकार्य

काठमाडौं । दोस्रोपटक विश्वासको मत पाएको ५७ दिनपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा जुटेका छन् । उनले नेपाली कांग्रेस र एकीकृत समाजवादीबाट मन्त्री थपेर सरकारलाई पूर्णता दिन लागेका हुन् । मन्त्रीको विषयमा सत्तारुढ नेपाली कांग्रेस र माओवादीबीच कुरा नमिल्दा सरकारले पूर्णता पाएको थिएन ।

११ मन्त्रालय रहेको प्रदेश सरकारमा अहिलेसम्म ६ वटा मन्त्रालयमा मात्रै मन्त्री छन् । दुईवटा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जम्कट्टेल र तीनवटा मन्त्रालयको जिम्मेवारी कांग्रेसका बहादुरसिंह लामासँग रहेको छ । मुख्यमन्त्री जम्कट्टेलले गत बिहीबार कांग्रेसलाई तीन र एकीकृत समाजवादीलाई दुईवटा मन्त्रालय भाग लगाइदिएका थिए ।

अझै पनि सत्ता सझेदार दलहरुबीच भागबन्डामा समस्या भएपछि मन्त्रालयको संख्या बढाएर भए पनि मन्त्रिपरिष्द विस्तार गर्ने तयारी भएको स्रोतको दावी छ । प्रदेशमा कांग्रेसले ६, माओवादीले चार र एकीकृत समाजवादीले दुईवटा मन्त्रालयमा दावी गरेपछि मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन । त्यसैले थप एक मन्त्रालय थप्ने गृहकार्य भएको छ । आगामी वर्षको बजेट आएलगत्तै मन्त्रालय थप्ने आन्तरिक सहमति भएको बुझिएको छ ।

गत जेठ ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा नेताहरू बोलाएर सहमति गराएपछि बागमतीमा सरकार विस्तार हुने भएको हो । आजै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेस र एकीकृत समाजवादीबाट मन्त्री बन्नेहरुको टुंगो लागिसकेको छैन । कांग्रेसबाट मन्त्री बन्नेको सूची लामो छ । कांग्रेसबाट रामकृष्ण चित्रकार, मिनकृष्ण महर्जन, मसिना खड्का, हरिप्रभा खड्गी, श्रीराम लामिछाने, सुरजचन्द्र लामिछाने, रमेश महतले मन्त्री बन्ने इच्छा देखाएका छन् ।