भरतपुर महानगरपालिका वडा नं १० स्थित चितवन माविको जमिन अतिक्रमण गरी बनाइएका संरचना आज बिहान भत्काइएको छ । वडाध्यक्ष परमेश्वर खनालको उपस्थितिमा ३५ टहरा भत्काइएको हो ।
उहाँका अनुसार गत दशैँयता यहाँ अस्थायी निर्माण गरी व्यापार– व्यवसाय गरिँदै आएको थियो । पटक पटक सूचना जारी गरी हट्न आग्रह गर्दासमेत अटेर गरेपछि डोजर लगाएर संरचना भत्काइएको उहाँले जानकारी दिनुभयो ।
वडाध्यक्ष खनालले भन्नुभयो,“ऐन कानुनको कार्यान्वयन गर्नुपर्ने बाध्यता हो । यसलाई सबैले पालना गरेर सहयोग गर्नुपर्छ ।” यसैगरी हाकिमचोकबाट क्यान्सर अस्पतालतर्फ जाने बाटोको दुवैतर्फ अतिक्रमित १२ संरचना भत्काउन ३५ दिने सूचना जारी गरिएको छ । सूचनाको मिति सकिँदासमेत कसैले नभत्काएकाले आज सात दिनको सूचना जारी गरी अटेर गरेमा भत्काइने उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अन्य क्षेत्रमा पनि अतिक्रमण भएका संरचनालाई भत्काइने छ ।” वडा नं १० भित्रका विद्यालय, अस्पताल, फलफूल पसल, सुपरमार्केट, मासु पसललगायतमा अनुगमनलाई तीव्रता दिइएको छ ।
























