खप्तड पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खप्तड पुगेका छन्। उनी सुर्खेतको वीरेन्द्रनगरबाट नेपाली सेनाको हेलिकप्टरमा त्यहाँ पुगेका हुन्।

प्रधानमन्त्री दाहालसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पराराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकलगायत पनि खप्तड पुगेका छन्। यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेशका मन्त्रीलगायत खप्तड पुगिसकेका छन्।

सम्मेलनमा विश्व प्रसिद्ध योग गोरु रामदेव,पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण,महायोगी जगत्गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहनेछ । सम्मेलनको पहिलो दिन बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योगा सिकाउने कार्यक्रम रहेको छ। तीन दिनसम्म चल्ने सम्मेलनका लागि मुख्यमन्त्रीको संयोजकत्वमा ४०१ सदस्यीय मूल तयारी समिति समेत गठन भएको छ।

सो समितिअन्तर्गत १२ उपसमिति गठन गरिएका छन् । यसैगरी सम्मेलन आयोजनाका लागि प्रदेश सरकारअन्तर्गत रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ ।

खप्तड क्षेत्रमा खप्तड बाबाले पाँच दशकसम्म साधना गरेका थिए। सो क्षेत्रमा खप्तड बाबाको कुटी,सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन,५३ झोती (टापु) लगायतका आकर्षक संरचना छन् । खप्तड राष्ट्रिय निकुञ्जसमेत रहेको सो क्षेत्र झण्डै २२५ वर्ग किलोमिटरमा फैलिएको छ ।