काठमाडौं । भारतले आफ्नो संसद् भवनमा राखेको विवादास्पद नक्सालाई लिएर बंगलादेश र पाकिस्तानले आपत्ति जनाएका छन् । पाकिस्तानले सुरुमै आपत्ति जनाएको थियो । अखण्ड भारतको नक्सामा पाकिस्तानको तक्षशिला पनि समावेश गरिएको छ ।
नेपालमा अखण्ड भारतको नक्साबारे चासो र चिन्ता उत्पन्न भए पनि अहिलेसम्म आधिकारिक धारणा सरकारले सार्वजनिक गर्न सकेको छैन । यसबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण सकेर आइसकेका छन् ।
उनले संसदमा सम्बोधन गर्दा भारतसमक्ष नक्साबारे कुराकानी गरेको जानकारी गराए पनि भारतले कुनै कुरै नभएको दाबी गरेको छ । परराष्ट्रमन्त्री एनपी साउदले त नेपाल सरकारलाई यसबारे कुनै जानकारी नै नभएको भनेर हल्का टिप्पणी गरेका छन् ।
तर, बंगलादेशले भने अखण्ड भारतका नक्साबारे भारतीय विदेश मन्त्रालयसँग प्रष्टीकरण माग्ने भएको छ । यसका लागि सरकारले आफ्नो भारतीय मिसनलाई निर्देशन दिएको हो । बंगलादेशका विदेश राज्यमन्त्री सहरियार आलमले ढाकामा पत्रकारसँग कुरा गर्दै अवामी लिगको सरकार नेपाल र पाकिस्तानमा समेत विरोध भइरहेको नक्शाबारे प्रष्टीकरण माग्ने प्रक्रियामा रहेको बताए ।
बंगलादेशको विपक्षी बंगलादेश नेसनालिस्ट पार्टीले भारतीय नक्सा आफ्नो देशको सार्वभौमिकता र स्वतन्त्रताका लागि चुनौतीका हुन सक्ने भन्दै विरोध जनाएको थियो ।‘यो नक्सालाई लिएर व्यापकरुपमा आक्रोश छ ।
यो राखिएको कुरामा कुनै सन्देह छैन । यद्यपि, थप प्रष्टीकरणका लागि हामीले दिल्लीस्थित मिसनलाई भारतीय विदेश मन्त्रालयसँग कुराकानी गर्न आग्रह गरेका छौँ । उनीहरूको प्रष्टीकरण आएपछि थप निर्णय लिइनेछ,’ ढाका ट्रिवुनले आलमलाई उद्धृत गर्दै लेखेको छ ।




















