पाेखरा । आन्तरिक स्रोत र सङ्घ सरकारले दिने अनुदान खुम्चिएपछि गण्डकी प्रदेश सरकारको आगामी आव २०८०/८१ को बजेटको आकार घट्ने भएको छ ।
चालु आवमा ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याइएकामा आगामी आवका लागि ३३ अर्बको हाराहारीमा बजेट आउने अनुमान छ ।
सङ्घ सरकारले पठाएको ३३ अर्ब ८५ करोडको सीमा (सिलिङ) मा रहेर प्रदेश सरकारले बजेट निर्माणलाई अन्तिम रूप दिन लागेको हो । प्रदेशको आर्थिक मामिला मन्त्रालयका प्रवक्ता राजेन्द्रबन्धु अर्यालले बजेटमा समावेश हुने योजना र लागत प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली (पिएलएमबिआइएस) मा प्रविष्ट गर्ने काम भइरहेको बताउनुभयो ।
“बजेट निर्माण अन्तिम चरणमा छ, समयको कही चाप परेको छ”, उहाँले भन्नुभयो, “मन्त्रालयगत रूपमा कार्यक्रम र योजना रुजु गर्दैछौँ ।” प्रवक्ता अर्यालले बजेटको मस्यौदालाई अन्तिम रूप दिन मात्र बाँकी रहेको उल्लेख गर्नुभयो ।




















