इस्लामाबादमा धर्मदेशना कार्यक्रम सम्पन्न

काठमाडौं । पाकिस्तानको इस्लामावादमा एक स्वागत तथा धर्मदेशना कार्यक्रम सम्पन्न भएको छ । नेपालस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. ह्रदयरत्न बज्राचार्य, नेपाली बौद्ध बिहारका संघनायक भिक्षु कौदन्य र कपन गुम्बाका लामा थिन्ले कुन्चकको उपस्थितिमा देर्मदेशना कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा इस्लामाबादमा रहेका नेपाली समुदाय, बौद्ध धर्मदर्शनमा चाख राख्ने पाकिस्तानी र अन्य मुलुकका व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको शुरूमा नेपालबाट आउनुभएका गुरूहरूलाई स्वागत गर्नुहुँदै पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले बौद्ध दर्शनका अहिंसा, दया, करूणा, समभाव एवं सम्यक ध्यान जस्ता शास्वत मान्यताहरू मानव जीवनउपयोगी भएकोले बौद्ध धर्मदर्शनको समसामयिकता र सर्वस्वीकार्यता रहेको विषयमा प्रकाश पार्नुभयो।


पाकिस्तान सरकारले गान्धारा सभ्यतालाई संरक्षण गर्दै पर्यटन प्रवद्धन गर्ने नीति लिएको परिप्रेक्षमा गान्धारा सभ्यता र नेपाली संस्कृतिबीच अटुट सम्बन्ध रहेकोले यसले नेपाल पाकिस्तान सम्बन्धलाई थप प्रगाढ बनाउने विचार व्यक्त गर्नुभयो। भगवान बुद्धको जन्मभूमी लुम्बिनी, नियमित धार्मिक एवं अध्यात्मिक क्रियाकलाप भइरहेका हजारौं बर्ष पुराना बौद्ध महाबिहार, बिहार, बहि, चैत्य एवं गुम्बाहरू आदि भएको कारणले नेपाल बौद्ध धर्मदर्शन, अध्यात्मको केन्द्रका रूपमा रहेको र बौद्ध धर्मावलम्बी एवं शान्तिमा विश्वास राख्ने अन्य समुदायको लागि पनि प्रमुख तीर्थ एवं आध्यात्मिक गन्तव्यका रूपमा रहेको बताउनुभयो।

साथै, बौद्ध दर्शनका थेरवादा, महायाना एवं बज्रयाना गरी तीनै प्रमुख धारको तीर्थस्थल समेत नेपाल रहेको कारण हिमाली दर्शनको अध्येताहरूका लागि पनि नेपाल केन्द्रको रूपमा रहेको बताउनु भयो। यी कारणले गर्दा पाकिस्तान लगायत विश्वभरबाट अध्यामिक साधकहरू नेपाल भ्रमणमा जाने गरेको बताउनुभयो।

प्राचिन उदियाना एवं हाल पाकिस्तानको स्वात उपत्यकामा जन्मनुभएका गुरू पद्मसम्भव वा गुरू रिम्पोचेले नेपालका विभिन्न स्थानमा ध्यानतपस्या गरेका स्थानहरू अझैपनि नेपालमा आध्यात्मिक केन्द्रका रूपमा रहेका छन्। बौद्ध साहित्यमा तक्षशीला एवं गान्धाराको ठूलो महत्व रहेको हुनाले यसको थप संरक्षण र प्रबर्द्धन भएमा उक्त क्षेत्र नेपाल लगायत अन्य मुलुकका बौद्ध धर्मावलम्बी एवं यसमा चाख राख्नेहरूका लागि प्रमुख गन्तव्य बन्न सक्ने विचार व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा प्रा बज्राचार्य, भिक्षु कौदन्य एवं लामा कुन्चकले बौद्ध धर्म दर्शनका विभिन्न पक्षहरूमा प्रकाश पार्नुका साथै सहभागीहरूबाट सोधिएका जिज्ञासाहरूको उत्तर दिनुभएको थियो। सो अवसरमा बौद्ध गुरूहरूले सहभागीहरूलाई ध्यान गर्न समेत सिकाउनुभएको थियो।