देशभरका नदीहरूमा जल सतह खतराकाे तह पार

काठमाडौं । बागमती नदीले खतराको तह पार गरेको र यसको तह अझै बढ्नसक्ने भन्दै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज बिहान ६ बजे सूचना जारी गर्दै रौतहट र सर्लाहीका बागमती नदी तटीय क्षेत्रमा हुनेहरूले आज बेलुका सम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

त्यस्तै बर्दियाको बबई र कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको छ । बाढीको सतह बढ्ने क्रममा छ । बर्दियाका रम्भापुर, सानोश्री चेपाङ, औरही खोला गोदना केन्द्रमा अत्यधिक वर्षा भइरहेको छ । दाङका लमही र लालमटिया तथा बाँकेको कुुसुमस्थित वर्षा मापन केन्द्रमा पनि भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

जोखिम क्षेत्रका बासिन्दालाई एसएमएस पठाएर सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।