फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनमा कति ?

काठमाडौं । भारतबाट फेरि पनि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट सोमबार प्राप्त मूल्यसूचीअनुसार अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दरले घटेर आएको छ ।

यसअघि मे १ मा पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा र मट्टितेल ३ रुपैयाँ ४८ पैसा घटेर आएको थियो भने खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ९ रुपैयाँ घटेर आएको थियो । हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

भारतीय आयल कर्पोरेसनले हरेक १५–१५ दिनमा निगमलाई इन्धनको मूल्यसूची पठाउँछ । खाना पकाउने ग्यासको हकमा एक–एक महिनामा मूल्यसूची पठाउँछ । आईओसीले आफ्नो लागत तथा कच्चा तेलको मूल्यका आधारमा नयाँ मूल्यसूची पठाउँछ ।