घट्यो पेट्रोलको भाउ : ठाउँ अनुसार मूल्य फरक, कहाँ कति ?

काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो ।

निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ। तराईमा प्रतिलिटर साढे ७ रुपैयाँ कम भएको छ ।  सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य घटाएको निगमले जनाएको छ ।

निगम सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले यसपटक भने वैज्ञानिक प्रणालीबाट मूल्य निर्धारण गरेको छ । यसअघिसम्म भारतबाट मूल्य घटेर आउँदा निगमले विगतको घाटा देखाएर मूल्य घटाउन आनाकानी गथ्र्यो । तर यस पटक  भने भारतबाट मूल्य घटेर आउँदा यहाँ पनि भाउ कम गरेको छ ।

निगमले यसपटक तराईलाई पहिलो वर्गमा राखेको छ । दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ रहेका छन् ।  तेस्रो वर्गअन्तर्गत काठमाडौं‚ पोखरा र दीपायल परेका छन् । अब काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्नेछ ।

तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्नेछ ।  डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७.५÷१४७. ५ रुपैयाँ पर्नेछ । सुर्खेतको र दाङमा भने पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्नेछ ।  डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखेको छ ।

हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा वाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको छ ।