भाइरलको चक्करले यसरी खोसिँदैछ बालापन

कुरा केही दिन अघिको हो । राजधानीमा बसोबास गर्ने एक ‘शिक्षित’ महिलाले युट्युबको लिंक सहितको एउटा मेसेज पठाउनुभयो ।
त्यहा लेखिएको थियो, ‘मेरी छोरी प्रतिस्पर्धी हो। तपाईंको एक लाइक र सेयरले छोरी बिजेता बन्न सक्छे। कृपया तपाईंको फेसबुक पेज र मेसेन्जर गुप्रमा धेरैभन्दा धेरै सेयर गरिदिनुहोला।’

उहाँकी सानी छोरीको सुन्दर तस्बिर । अनि तस्बिरसँगै लेखिएका शब्द ।

मैले छोरीको तस्बिरसहित भोट माग्ने ती शिक्षित महिलालाई प्रश्न गरेँ– ‘तपाईंकी छोरी यति सानी छे । यी नानी यसैपनि सुन्दर छिन। हुन त भगवानका हरेक सृजना उतिकै सुन्दर हुन्छन् नै। यति सानी बच्चीको सुन्दरताको मापन के हो ? यति साना बच्चाहरूको कस्तो प्रतिस्पर्धा हो ? हरेक बाबुआमालाई आफ्ना छोराछोरी त्यसै सुन्दर लाग्छन् होइन र ? कस्तो हुटहुटी तपाईंलाई ? तपाईंजस्तो सचेत मान्छे पनि भाइरलको चक्करमा यसरी होमिनु ठिक होला त ?’
मेरो प्रश्नमा उहाँले केही प्रतिवाद गर्नुभएन ।

बरू आफै अर्को प्रसगं निकाल्नुभयो– ‘हेर्नुस न म्याम जे गर्नु जमानाले ग¥यो। हाम्रो पालामा केही अवसर थिएन, यो त मौका हो। अहिले हेर्नुस् त बच्चाहरू सानैमा कति हिट भएका छन् ? स्मार्ट जमानामा हामी स्मार्ट बन्न पर्दैन र? तपाईंको फेसबुकमा भएका सबै साथीसँग मेरी छोरीको लागि भोट मागिदिनुस् है म्याम प्लिज ।’
उनले थप भन्दै गइन्, ‘तपाईंले सोधिहाल्नुभयो। यो प्रतियोगिता त्यस्तो ठूलो केही पनि होइन। दुई वर्षसम्मका बच्चाहरूले भाग लिन पाउँछन्। जसको फोटोमा बढी लाइक र सेयर आउँछ, उही बिजेता हुन्छ रे।’

यो कस्तो भाइरलको हुटहुटी हो शहरीया आमाहरूलाई? भर्खर जन्मेको शिशु भाइरल बनाउने बहानामा जस्तो हर्कत गर्न पनि पछि नपर्ने?
नभन्दै दुई सातापछि नतिजा आएछ। ती बच्ची प्रतिस्पर्धाको तेश्रो स्थानमा परिछन्। फेरी तिनै आमालाई बेचैनी– ‘हेर्नुस् न, मेरा आफ्नै दिदी–बहिनीले मेरी छोरीको लागि भोट गरेन छन्। उनीहरूले आफ्नो ग्रपमा सेयर गरेको भए मेरै छोरी टप हुन्थिन्।’

उनको यस्तो बेचैनीले सगरमाथाको उचाइ नापिरहेको छ।

अहिले ती सानी दुई वर्षकी हुँदैछे। शिक्षित, शहरिया आमाले बच्चालाई यति अंकुश लगाएको देखिन्छ कि जहाँ पनि बाँधिएर अभिनय गर्न अवोध बच्ची विवश छिन्। राम्रोसँग बोली नफुटेकी बच्चीलाई हिन्दी तथा नेपाली नयाँ–पुराना गीतहरूमा ‘लिपसिंक’ गर्न लगाइएको हुन्छ। सकि–नसकी बच्चीले अभिनय गर्नैपर्छ।
यो त एउटा उदाहरण मात्रै हो। यस्ता हजारौं उदाहरणहरू छन् यो शहरमा।

केही समय अघिको एउटा समाचारले देशव्यापी रुपमा तहल्का मच्चायो एक वर्ष अघि गुल्मीको सामान्य परिवारका सचिन परियार एकाएक भाइरल भए। मिठो गाऊँले लवज र दोहोरीका टुक्का सहजै फर्काउन सक्ने भएकै कारण उनी भाइरल भए।

उनलाई काठमाडौं ल्याइयो। उनले महानायक राजेश हमालसँग अभिनय गरे। टेलिसिरियलमा झुल्किए। केही गीतको भिडियोमा आफै मोडलको रूपमा देखिए। केही गीत आफैले गाए। चर्चित सांगीतिक कार्यक्रम इन्द्रेनीमा पनि गीत गाए।

इन्द्रेनीका सञ्चालक चालक कृष्ण कडेँलले उनलाई १२ कक्षासम्म निःशुल्क पढाइदिने आश्वासन दिए। र, राजधानीको एक बोर्डिङ स्कुलमा भर्ना समेत गरिदिए। एकाएक सचिन विभिन्न स्टेज कार्यक्रमहरूमा समेत देखिन थाले।

यसरी एकाएक ख्याती पाएका सचिन बिरामी परेको भन्दै उनका बुवाले स्कुलको होस्टलबाट निकाले। स्कुलबाट निकालेको ६ महिनासम्म पनि कुनै जानकारी नगराई अनुपस्थित गराएको भन्ने स्कुलका प्रधानाध्यापकको गुनासो थियो।

कुनै समय भाइरल सचिन फेरि सडकमा मागिरहेको अवस्थामा भेटिए। उनीबारे ‘एक वर्षमा सचिन जहाँको त्यही’ भन्ने शीर्षकहरूमा समाचारहरू भाइरल हुन थाले।

सचिनले एक वर्षमा पाएको तारिफ, भाइरल र चमकधमक क्षणभरमै बिलायो। सानै उमेरका सचिन गाऊँमा भेटिएको र स्कुल समेत नगएको खबरले फेरि सोच्न बाध्य बनाउँछ।

केही दिनअघि एउटा भिडिओ हेरेकी थिएँ। भिडिओमा एक दुधे बालकले आमाको दुध चुस्न खोजिरहेको थियो। भोकले रोइरहेको थियो। तर आमाको स्तनपानको साटो उसको छेउमा एउटा सिरानी राखिएको थियो। बच्चाले भने त्यही सिरानीलाई आमा ठानेर दुध चुस्न खोजिरहेको थियो।

दुधे बालकलाई दुध चुसाउन छाडेर भिडिओ खिचेर त्यसरी अपलोड गर्ने आमा सम्झेर मलाई त धिक्कार्न मन लाग्यो।

त्यस्तै, अर्को उदाहरण। भिडिओमा एकजना नानी दाँत निकाल्दाको पिडाले रोइरहेकी थिइन्। मलाइ दुख्यो भन्दै मुखभरी रगत र आखाभरी आँसु पारेकी थिइन्। तर वरिपरि भएका बा–आमा रमिते बनेको देखिन्छ। ती नानीका भाग एक र दुई भन्दै टिकटकमा भिडिओ पोष्ट भएका छन्।

कस्तो जमाना हो यो? सन्तानको दुखाइमा बुवाआमा रमाउने। सन्तानको भोकमा रमाउने। मनमनै सोच्छु, ‘आफूलाई बच्चा बिरामी हुँदा निद्रा, भोक, थकान सबै हराउँछ। बच्चाभन्दा बढी आफै बिरामी परिन्छ। बच्चाको पिडा आफूलाई दुखिरहेको हुन्छ। तर म जस्तै आमाहरू आफ्ना बिरामी बच्चाको भिडिओ शृंखलाबद्ध रूपमा अपलोड गरिरहेका छन्। यस्तो कसरी सक्छन् होला?’

अझ झन् च्याउसरी उम्रिएका अनलाइन र युट्युबहरूको लर्को नै लाग्छ ती अवोध बच्चाहरूको अन्तर्वार्ता लिन। कोही खानै छाडेर, कोही आमाको काख छाडेर, कोही होमवर्क गर्नै छाडेर अन्तर्वार्ता दिन्छन्। कतिपय बच्चाहरूको त स्कुलमै पुगेर समेत अन्तर्वार्ता लिएको समेत देखिन्छ। ती बालबालिकाहरूलाई अन्तर्वार्ताको अर्थ समेत राम्ररी थाहा नभएको हुन सक्छ ।

निरर्थक प्रश्नको उत्तर ती बच्चाहरूलाई सकि–नसकी भन्न लगाइन्छ। आफ्नो टिआरपी बढाउने ध्याउन्नमा मात्रै तल्लिन छन् ती खहरे मिडियाहरू।
साना बालबालिका आफैमा ज्ञानका भण्डार हुन्। हरेक बालबालिका केही न केही प्रतिभा हुन्छ। पछिल्लो समयमा लोक गीतको चर्चामा बालबालिकाहरूको धेरै प्रयोग भएको देखिन्छ। गाउँकै कुनै भेगमा गुन्गुनाउने साना बच्चा एकाएक राजधानीमा आउँछन्।
उनीहरूको भेट एक्कासी ठुला कहलिएका समाजका गन्नेमान्ने व्यक्तिहरूसँग हुन्छ। स्वर राम्रोसँग खुलेको हुँदैन, राम्रोसँग गीतको टुक्का फड्कारेर भन्न सक्ने भएका हुँदैनन, उमेर आफैमा सानो छ,

आमाबुवाको हात समाएर हिड्ने बच्चाहरू आफैले बच्चा जन्माएर हिँडाउने सम्मका विषयमा गीत गाउँछन् र भाइरल हुन्छन्। प्रतिभा प्रस्फुटनको समय हुन्छ। कलिला बालबालिकाले भनेको त अनुशासन सिक्ने र राम्रा तथा नैतिक शिक्षा प्राप्त गर्ने समय हो। यस्तो बेलामा भाइरलको चक्करमा पर्दा क्षणिक चर्चाको लोभले बालबालिकाको भविष्य नै चौपट हुने त होइन भन्ने प्रश्न उठिरहेको छ।

राष्ट्रिय टेलिभिजनहरूमै साना बालबालिकाहरूबीच प्रतिस्पर्धा गराउने कार्यक्रमहरू प्रशारण गरिन्छ। त्यस्तोमा एक जना विजेता बालबालिका खुशी हुँदा अन्य बालबालिकाको मस्तिष्कमा कस्तो छाप पर्ला?

बच्चाहरू आफूलाई अरूसँग तुलना गर्न थाल्छन्। यसले उनीहरूको कलिलो दिमागमा नकारात्मक असर पर्छ। अनि डिप्रेसनको शिकार समेत हुन सक्छन्।

अहिले सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल जस्तै छ। राष्ट्रिय टेलिभिजनबाट प्रशारण भइरहेको नृत्य प्रतियोगीता कार्यक्रममा एक जना प्रतिस्पर्धी बालिकाले आफ्नो नृत्य प्रस्तुत गरिन्। उनको नृत्य राम्रो थियो। तर प्रतियोगिताको लागि छनौट भइनन्।

सबै जजहरूका अगाडी ती बच्चीले भनिन्, ‘मैले पढाइ छाडेर कति सिकेँ। किन मलाई छनौट नगर्ने तपाईहरू?’ जजहरू नानीको कुराले अवाक्क भए। ती सानी बच्चीलाई म किन अयोग्य भएँ भन्ने कुराले कतिन्जेल पिरोल्ला अब? त्यसको परिपुर्ती कसरी गर्ने? बाल मनोविज्ञान कस्ले बुझ्ने? कसरी बुझ्ने?

यस्ता उदाहरणहरू धेरै छन्। बच्चाको मस्तिष्कमा भाइरलको भूत सवार नगरौं। तपाईं हाम्रा बच्चाहरू कुनै न कुनै प्रतिभा लिएरै जन्मिएका छन्। समय आएपछि उनीहरूले आफूलाई निर्खाछन्।

कतिपय आमाहरू यति अमानवीय भएको देखिन्छ कि बच्चालाई कुट्ने, बच्चा रुन्छ अनि हप्काए भिडिओ खिचेर समेत भाइरल भइरहेका देखिन्छन्। भोकाएर रोएको, बिरामी बच्चा, राम्रोसँग बोल्न नसक्ने, राम्रोसँग हिड्न नसक्ने बच्चाहरू भाइरल हुन्छन्। उनीहरू बस् बच्चा हुनु पाएका छैनन्।

अन्ततः म हरेक मानिसलाई के भन्न चाहन्छु भने, बच्चालाई बालापनमा रम्न दिऔं। पढ्ने बेलामा पढ्न दिऔं। पढाइ बिगारेर पैसाको पछाडी कुद्ने, बालबच्चालाई कमाइखाने भाँडो कसैले पनि बनाउने हर्कत नगरौं। कम्तिमा अभिभावकले बच्चाको पढाइलाई प्राथमिकता दिने गरौं। कमाइको प्रलोभनमा बच्चाको बालापन नखोसौं।