काठमाडौं । रुस र पश्चिमा देशहरूबीच शीत युद्धपछि भएको सबैभन्दा ठूलो कैदीबन्दी साटफेर भएको छ । कैदीबन्दी साटफेरमा १६ जना रुसी जेलमा रहेका पश्चिमा नागरिकहरू रिहा भएका छन् भने आठ जना अमेरिका, नर्वे, जर्मनी, पोलन्ड र स्लोभेनियामा रहेका रुसी नागरिकहरु छन् ।
रिहा भएका रुसी जासुस जोडीका बालबच्चाले आफू चढेको विमान मस्को उडेपछि मात्रै आफूहरू रुसी नागरिक भएको थाहा पाएको विषय विश्वका संचारमाध्ययमको पहिलो प्राथमिकतामा परेको छ । अर्त्युम भिक्टरभिच डल्टसेभ र एन्ना भलेरेभ्ना डुल्टस्भाले आफूहरू आर्जेन्टिनी जोडी भएको परिचय दिएर स्लोभेनियामा जासुस गरेका थिए। त्यही जासुसीको आरोपमा उनीहरू जेल परे । उनीहरूका बालबच्चालाई रुसी भाषा बोल्न पनि आउँदैन थियो र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबारे पनि थाहा थिएन।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार उनीहरूले विमानस्थलमा आफूहरूलाई स्वागत गर्न पुगेका व्यक्ति को हुन् भनेर सोधेका थिए। कैदीबन्दी साटफेर सम्झौतापछि रिहा भएको चार जनाको यो परिवारलाई रुसमा भव्य स्वागत गरिएको थियो । डल्टसेभ र यनकी छोरीलाई फूल दिएर राष्ट्रपति पुटिनले अङ्गालो हालेका थिए । रुसी भूमिमा उत्रिएका ती जासुसका छोरी र छोरालाई राष्ट्रपति पुटिनले स्पेनिस भाषामा “शुभरात्रि” भनेका थिए।
आर्जेन्टिनी सञ्चार माध्यमका अनुसार यो जोडीले आफ्नो नाम मारिआ माएर लुड्विग गिश भनेर चिनाएका थिए। उनीहरू सन् २०१७ मा आर्जेन्टिनी राहदानी देखाएरै स्लोभेनिआ पुगेका थिए। आफ्नो छद्म नाममै श्रीमान्ले सूचनाप्रविधि कम्पनी चलाएका थिए र श्रीमतीले एक अनलाइन आर्ट ग्यालरी खोलेका थिइन्।
उनीहरू लुबिआनामा बस्दै आएका थिए। सन् २०२२ मा जासुसीको आरोपमा स्लोभेनियाको प्रहरीले उनीहरूलाई पक्राउ नगर्दासम्म पनि उनीहरूको अर्को परिचयबारे कसैले थाहा पाएको थिएन। रुस फर्किएको जोडीलाई हालै जासुसीको कसुरमा दोषी ठहर भएर १९ महिनाको जेल सजाय सुनाइएको थियो।
उनीहरू सने २०२२ मै पक्राउ परेका कारण उनीहरूलाई स्लोभेनिया छोड्न आदेश दिइएको एसोसिएट्स प्रेसले जनाएको छ। बिहीवार ठूलो सङ्ख्यामा कैदीबन्दी साटफेरको सहमति भएपछि उनीहरू आफ्ना बालबच्चासँगै रुस फर्किएका छन् ।