बंगलादेशबाट भागेकी शेख हसिना यस्तो ठाउँमा भेटिइन्, त्यहाँबाट पनि भाग्न सक्ने

काठमाडों – बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना देश छोडेर भारत पुगेकी छन्। भारतीय समाचार संस्‍थाले स्रोतलाई उदृत गर्दै हसिना चढेको जहाज भारतीय वायु सेनाको हिन्डनस्थित अड्डामा अवतरण भएको छ।

सोमबार बिहान सुरक्षा खतरा बढ्दै गएपछि हसिनाले राजीनामा दिएर बंगलादेश छाडेकी थिइन्। उनी सेनाको सी–१३० एयरक्राफ्ट, एजेएएक्स १४३१ कलसाइन भएको जहाज चढेर भारत आइपुगेकी हुन् । सोमबार साँझ ५ः३६ बजे उनी चढेको जहाज अवतरण भएको इन्डिया टुडेले समाचारमा लेखेको छ।

बंगलादेशको सेनाको जहाज पटना हुँदै नयाँ दिल्ली नजिकै रहेको भारतीय वायु सेनाको अड्डामा अवतरण गरेको हो । त्यहाँ भारतीय एयर अफिसर कमान्डिङ सन्जय चोपडाले स्वागत गरेका थिए। हसिना भारतबाट बेलायत जाने सम्भावना छ । यद्यपि कहिले जाने भन्ने यकिन भइसकेको छैन। सोमबार हसिनाले १५ वर्षे सत्ता छाडेसँगै प्रदर्शनकारीहरूले खुसीयाली मनाएका छन्। प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए।

हसिनाले राजीनामा दिएसँगै बंगलादेशका सेना प्रमुख वाकेर–उज–जमनले विभिन्न राजनीतिक दलका प्रमुखसँग छलफल गरेका थिए। त्यसपछि देशबासीका नाममा सम्बोधन गर्दै अन्तरिम सरकार बनाउनेबारे छलफल गरिरहेको बताएका थिए। त्यस्तै राजनीतिक संकटको आजै साँझ सम्ममा समाधान निकाल्ने पनि बताएका थिए।