काठमाडौं । अमेरिकाको चुनावमा उमेदवार बनेका नेपालका दुवैजना विजयी भएका छन् । मेरिल्यान्ड जनरल एसेम्बलीका लागि मेरिल्यान्ड राज्यको विधायक (सांसद)मा डेमोक्र्याट पार्टीका तर्फबाट नेपाली मूलका डा ह्यारी भण्डारीले पुनः जीत हासिल गरेका हुन् ।
उनी कुल १३ हजार ९४९ मत ल्याएर पहिलो निर्वाचित विधायक बनेका छन् । यो कुल खसेको मतको २० दशमलव २७ प्रतिशत हो ।
सन् २०१८ मा सम्पन्न चुनावमा विजयी भएर अमेरिकाको मूलधारको राजनीतिमा जित हासिल गर्ने पहिलो नेपाली बनेका भण्डारीले आफ्नो क्षेत्रका नागरिकलाई शिक्षामा सुधारको अभियान अगाडि सारेका थिए । यसका लागि उनले दुवै पटकको चुनावमा ‘टिचर फर डेलिगेट’ भन्ने नारा अगाडि सारेका थिए।
यसैगरी, न्युयोर्क स्टेट एसेम्बलीको डिष्ट्रिक्ट १०३ न्युयोर्कबाट पहिलो पटक उमेदवार बनेकी सराहना श्रेष्ठ विजयी भएकी छिन् । छोटो समयमा राजनीतिक सफलता हात पारेकी सराहनाले जितसँगै न्युयोर्क स्टेट एसेम्बलीमा जित हासिल गर्ने पहिलो नेपाली बनेर इतिहास निर्माण गरेकी छन् ।


















