काठमाडौं । आफ्नो दोस्रो वर्षे कार्यकाल सच्चिएर अघि बढ्ने बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १४ घन्टा नबित्दै पार्टीको वडास्तरीय कार्यक्रममा सहभागी हुन गोरखा हिँडेका छन् ।
पार्टीले सञ्चालन गरिरहेको माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत बारपाक सुलीकोट गाउँपालिका–८ को वडाको बैठकमा सहभागी हुन उनी त्यहाँ जान लागेका हुन्। अभियानअन्तर्गत सातै प्रदेशका एक–एक वडामा पुग्ने कार्यक्रमअन्तर्गत प्रचण्ड गण्डकी प्रदेशको बारपाक सुलीकोट गाउँपालिका– ८ पन्द्रुङको वडाको बैठकमा सहभागी हुन लागेका हुन्।
प्रचण्ड बिहानै गोरखा जाने तय भएको थियो । तर नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चाको बैठक बोलाउन दबाब दिएपछि बालुवाटारमा बैठक बसेको थियो ।
बुधबार बिहान बसेको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । बैठकमा विप्लवले आफूविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएकोप्रति प्रचण्डसँग असन्तुष्टि व्यक्त गरेका थिए ।
विप्लवले अदालतको पुर्जी र सरकारसँग भएको सहमतिका विषयमा ध्यानाकर्षण गराएका थिए । त्यसपछि प्रचण्डले साँझ फेरि बैठक बस्ने भनेर टुंग्याएर गोरखा लागेका छन् ।




















