राष्ट्रिय सभा निर्वाचनलाई प्रभाव पार्न आन्दोलनको धम्की दिँदै एमाले

काठमाडौं । आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । फागुन २० गते रिक्त हुन लागेको २० मध्ये १९ सिटमा सातै प्रदेशमा निर्वाचन हुँदैछ । एक सिट सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।

सत्ता गठबन्धन मिलेर १९ सिटमा चुनावमा होमिँदैछन् । प्रमुख प्रतिपक्षी दल एमालेले १९ सिटमै उम्मेदवार उठाएको छ । यदि भोट क्रस भएन भने १९ सिट नै सत्तारुढ गठबन्धनले जित्ने निश्चित छ । एमालेको पक्षमा शून्य नतिजा हात पर्नेछ । सात प्रदेशमध्ये कोशीमा एमाले अलि बलियो छ । त्यहाँ अलिअलि भोट क्रस गराउन सके दुई सिट जित्न सकिने एमालेको विश्वास छ । त्यही भएर अहिले उसले सत्तारुढ गठबन्धनविरुद्ध सडक आन्दोलनको धम्की दिन थालेको छ ।

वर्तमान सरकारलाई च्यूत गर्न भन्दै एमाले अध्यक्ष केपी ओलीले आन्दोलनका लागि तयार रहन निर्देशन दिइसकेका छन् । आगामी माघ मसान्तबाट आन्दोलन सुरु गर्ने एमालेको तयारी छ । खासगरी माओवादी जनप्रतिनिधिलाई फकाएर, तर्साएर, प्रलोभन देखाएर आफ्नो पक्षमा तान्न एमालेले आन्दोलनको धम्की दिएको बताइन्छ । अहिलेको गठबन्धन टुटेमा एमालेसँग नयाँ समीकरण बन्ने भन्दै एमालेले प्रचार सुरु गरिसकेको छ ।

सत्ताबाट बाहिरिएको १० महिनामा प्रमुख प्रतिपक्षी दल एमाले खुलेरै सरकार बदल्ने दौडमा अघि बढेको छ । सरकारको कार्यसम्पादन कमजोर भएको र गठबन्धन तोड्नु आवश्यक भएको ओलीको तर्क छ ।तर आन्दोलनको एजेन्डाबारे भने एमाले प्रस्ट छैन । भन्नलाई एमालेले सरकारले कामै गर्न नसकेको भन्दै छ । सत्ता गठबन्धनसँग देशका लागि काम गर्ने भिजन नै नभएको अध्यक्ष ओलीको पुरानै कथन हो । तर प्रतिपक्षमा रहँदा गठबन्धन भत्काउन कुनै चलखेल नगर्ने बताउने गरेका ओली र उनको पार्टी अहिले आएर गठबन्धन कमजोर बनाउन किन उद्यत छ ? स्पष्ट छैन ।

गठबन्धनसँग एमाले रुष्ट हुनुको ताजा कारण भने राष्ट्रिय सभामा एमाले रित्तो हात हुने अवस्था हो । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमै पास गर्ने विषयलाई राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सिट बाँडफाँटका लागि सर्त बनाउन खोजेको एमालेले त्यसमा सफलता पाएन ।

त्यसबाहेक निकै ठूलो चलाखीका साथ चुनावी गठबन्धन भत्काएर प्रचण्ड नेतृत्वको सरकार बनाएर फेरि दुई महिनामै त्यसबाट बाहिरिनुपरेको चोट एमालेका लागि दुखिरहने घाउ बनेको छ । अहिले त्यही घाउ बल्झिएको एमालेजन बताउँछन् । हालै सम्पन्न मध्य पहाडी लोकमार्गको यात्रामा कार्यकर्ताबाहेक आमनागरिकको चासो पार्टीप्रति नदेखिनुले पार्टीमा नयाँ हतासा देखिएको हो । त्यसकारण पनि ८४ को चुनाव कुर्न नसकिने अभिव्यक्ति आएको हुन सक्ने विश्लेषकको टिप्पणी छ ।

सत्ता गठबन्धनभित्रका जसपा, एकीकृत समाजवादी र जनमत पार्टीको असन्तुष्टिलाई एमालेले नयाँ अवसरका रूपमा देखेको छ । राप्रपाको आन्दोलन, अर्को विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीको दबाब यात्राजस्ता कार्यक्रमकै बीच आन्दोलन गर्दा सरकारलाई गलाउन सकिने उसको बुझाइ छ । यसका लागि उसले पहिले प्रदेश तहमा जनसभा गर्ने तयारी गर्दै छ ।

गठबन्धनमा फाटो ल्याएर सत्तारोहण गर्न नसके २०८४ को चुनावमा आफ्नो अस्तित्व नै जोखिममा पर्ने चिन्ताले एमालेलाई राम्रैसँग सताएको देखिएको छ ।