अर्थतन्त्र सुधारका लागि फजुल खर्च कटौती गर्नुपर्छ : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि फजुल खर्च कटौति गर्नुपर्ने बताएका छन् । बुटवलमा शनिबारदेखि शुरु भएको राष्ट्रिय पार्क सम्मेलनको उद्घाटन गर्दै पूर्वअर्थमन्त्री पौडेलले सरकारले अर्थविज्ञ, बौद्धिक व्यक्तिहरुको समन्वय लगातयतका पक्षहरुको छलफल र सहकार्य गरी फजुल खर्च कटौती गर्दै राजस्वले चालु खर्च धान्न सक्ने बजेट निर्माण गर्न सुझाव दिए।

त्यस्तै, उनले सरकारले कानुन बनाएर वैज्ञानिक ढङ्गले दिगो व्यवस्थापनको बाटो खोल्नुपर्नेमा जोड दिए । सरकारले कानुन निर्माणमा बेवास्ता गरे निजी क्षेत्रबाट गैरसरकारी विधेयक दर्ता गरेर पनि कानुन बनाउन सकिने उनको भनाइ छ ।

सम्मेलनमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले धेरैजसो पार्कहरू वन क्षेत्रभित्र सञ्चालनमा रहेकाले बेला–बेलामा वनसँग हुने विवाद र द्वन्द्व अन्त्यका लागि स्पष्ट कानुन बनाउन दबाब दिनुपर्ने बताए ।

साथै, कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजूलगायतले देसभरका पार्कहरूको सही ढङ्गले व्यवस्थापन गर्ने विषयमा सम्मेलन उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।