ओली सत्ता फुस्किएपछि सत्तोसरापमा लागे: अध्यक्ष नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि कटाक्ष गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री नेपालले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफलमा ओलीप्रति कटाक्ष गर्नुभएको हो ।  एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले अध्यक्ष ओली हातबाट सरकार फुस्किएपछि अरूलाई सत्तोसराप गर्ने अभियानमा लाग्नुभएको बताउनुभयो ।

‘सहकार्य आवश्यक छ, एकले अर्कालाई घोचेर मात्र हुँदैन’ सोमबार प्रतिनिधिसभमाा उहाँले भन्नुभयो – ‘पीडा, व्यथा पोखेर मात्र हुँदैन । सरकारमा बस्न सकिएन, त्यो बेग्लै कुरा हो । किन बस्न सकिएन ?  अरूलाई दोष दिएर हुँदैन । बनिसकेको सरकार किन आफ्नो हातबाट फुस्कियो ?  अरूलाई सत्तोसराप गरेर हुँदैन ।’

पूर्वप्रधानमन्त्री नेपालले नेताहरुमा विपक्षीलाई तल्लोस्तरको गाली गर्ने रोग समेत देखिन थालेको उल्लेख गर्नुभयो । ‘हामीकहाँ सबैभन्दा ठूलो समस्या व्यक्तिवादको रोग हो’ उहाँले भन्नुभयो– दोस्रो, सर्वज्ञानी ठान्ने प्रवृत्ति र अरूलाई अवमूल्यन गर्ने प्रवृत्ति हो । कुरामा उपदेश बढी छाँट्ने र व्यवहारमा लागु गर्ने चलन कम छ ।’