समाजवादी माेर्चाद्वारा भ्रष्टाचारविरूद्ध देशव्यापी आन्दोलन घोषणा

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) माेर्चा संगठनले भ्रष्टाचार र कुशासनविरूद्ध देशव्यापी आन्दोलन  घोषणा गरेकाे छ । माेर्चा संगठनकाे बैठकले नक्कली भुटानी शरणार्थी भ्रष्टाचार तथा राष्ट्रद्राेहीहरूविरूद्धविभिन्न तहमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेकाे हाे ।

एकीकृत समाजवादीका विभिन्न जनवर्गीय संगठनहरूकाे एकीकृत माेर्चाले कुशासनलाई परास्त गरी शुसासन कायम गर्न सरकारलाई दबाब दिनका लागि विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएकाे माेर्चाका प्रमुख डा. विजयकुमार पाैडेलद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ ।

एकीकृत समाजवादीका उपमहासचिव समेत रहनुभएका डा. पाैडेलका अनुसार जेठ १६ गते अपरान्ह ४ बजे एउटै समयमा सबै जिल्लामा विरोध प्रदर्शन, र्याली तथा कोणसभा गर्ने निर्णय गरिएकाे छ । त्यस्तै, काठमाडाैंकाे माइतीघर मण्डलामा जुलुससहित नयाँबानेश्वरमा पुगेर  सभा गर्ने कार्यक्रम तय गरिएकाे छ ।

आन्दोलनका कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन मोर्चा संगठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी, भूगोलका सबै प्रदेश कमिटी, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी जिल्ला कमिटी, विशेष जिल्ला कमिटीलगायत सबैलाई अभियानलाई गंभीरतापूर्वक लिई आन्दोलनमा उत्रिनका लागि अनुराेध गरिएकाे छ ।

‘हाइप्रोफाइल भ्रष्टाचार र कुशासनले देशको अर्थतन्त्र र प्रतिष्ठासमेत जर्जर बनेको छ । कुशासनलाई परास्त गरी शुसासन कायम गर्न हाम्रो पार्टीको निर्देशनमा मोर्चा संगठन प्रतिवद्ध छ । यस अभियानलाई गंभीरतापूर्वक लिई आन्दोलनमा उत्रिनका लागि मोर्चा संगठन सबैमा हार्दिक अनुरोध गर्दछ ।’ विज्ञप्तिमा भनिएकाे छ ।