मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। यसअघि आइतबार साँझ बस्ने भनिएकाे बैठक विशेष कारण देखाउँदै स्थगित भएकाे थियाे ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा सर्वदलीय बैठक हुँदा सहमति जुट्न नसकेकाले बैठक सारिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयाे ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सरकारका तर्फबाट प्रतिपक्षहरुसँग वार्ता गरी सहमतिमा बिबाद टुङ्ग्याउने सम्भावना रहेको र दिउँसो बैठक नियमित रुपमा सञ्चालन हुने बताउनुभयाे। गण्डकी प्रदेशसभाको आइतबारको बैठकमा प्रदेशसभा सदस्यहरुले बाढीपहिरा, डुबानजस्ता वर्षायाममा हुने प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ।
प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले सम्भावित प्राकृतिक प्रकोपको सामना गर्न विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई चुस्त र प्रभावकारी बनाउनुपर्ने धारणा राखेका हुन् । प्रदेशसभामा आगामी आव २०८०/८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफल जारी छ।




















