काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको चुनाव प्रचारमा गएको भन्दै आयोगले बोर्ड अध्यक्ष केसीलाई स्पष्टीकरण सोधेको हो। चौधरीसत्ता गठबन्धनबाट नवलपरासी क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका छन् ।
चौधरीको चुनाव प्रचारमा केसी सहभागी भएकाबारे समाचार आएको भन्दै आयोगले त्यसबारे स्पष्टीकरण सोधेको छ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड ९क० मा “कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने” भन्ने उल्लेख छ।
खण्ड (ख)मा “राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरक्रियाजस्ता कार्यक्रममा भाग लिन नहुने” समेत व्यवस्था छ।
‘उल्लेखित कानूनी व्यवस्था रहेको सम्बन्धमा तपाईंले कुनै दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने भएकोले तपाईं चलचित्र विकास बोर्डको अध्यक्ष रहेको व्यक्तिले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार प्रमाण के छ’ खुलाउन समेत आयोगले भनेको छ।




















