काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको बाहिनी, गण तथा गुल्म कमाण्डहरुलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिबद्धताका साथ लाग्न निर्देशन दिएका छन्।
भर्चुअल माध्यमबाट देशभरका कमाण्डहरुलाई एकैसाथ निर्देशन दिँदै महानिरीक्षक अर्यालले निर्वाचनका बखत कार्यक्षेत्रमा खटिँदा आइपर्ने जस्तोसुकै चुनौतीको सामनाका लागि तयार हुन पनि आग्रह गरेका छन् ।
उनले दौरानमा बल प्रयोग गर्नुपरेमा बल प्रयोगको सिद्धान्तअनुसार सबै प्रकारका सावधानी अपनाएर जिम्मेवारी पूरा गर्न र कुनै पनि कमि कजोरी भएमा स्वयं युनिट कमाण्डर जवाफदेही हुनुपर्ने बताए ।
अर्यालले सवारीसाधनको उचित प्रयोग, त्यसमा अपनाउनुपर्ने सावधानी र न्यूनतम स्रोतसाधनको अधिकतम प्रयोग गर्दै भोग, प्यास र थकानको परवाह नगरी २४सै घण्टा क्रियाशील रहन सशस्त्र प्रहरी कर्मचारीलाई अनुरोधगरेका छन् । राष्ट्रको यस महान अभियानमा उच्च मनोबल र हौसलाका साथ कार्यक्षेत्रमा खटिन निर्देशन दिँदै उनले भने, “निर्वाचनका बेला सुरक्षा कमीकमजोरी क्षमा हुने छैन ।”
निर्वाचनको समयमा फिल्डमा खटिँदा सामान्यभन्दा सामान्य त्रुटी आफूले सुन्न र देख्न नचाहेको उनले बताए । महानिरीक्षक अर्यालले बन्दोबस्तीलगायत अन्य भौतिक व्यवस्थापन भइसकेको जानकारी गराउँदै उच्चतम र भरपूर प्रयोग गर्न निर्देशन दिए ।
सो क्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले निर्वाचनको समयमा हुनसक्ने समस्या, चुनौती तथा कार्यक्षेत्रमा खटिँदा अपनाउनुपर्ने कार्यशैलीबारे मातहत कमाण्डरलाई जानकारी गराएका थिए।




















