तीन दलका शीर्ष नेताबीचको भेटवार्ता सकियो, के-के भयो छलफल ?

काठमाडौं । सहमतिका साथ संसद् अगाडि बढाउनेमा प्रमुख तीन राजनीतिक दल एकमत भएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले र माओवादीका शीर्ष नेता र प्रमुख सचेतकसहितको बैठक अविलम्ब संसदीय समिति गठन र सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई छिटो टुंगोमा पुर्याउन सहमतिमा पुगेको हो ।

माओवादीका मुख्य सचेतक हितराज पाण्डेले संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समिति गठन गर्ने विषयमा केन्द्रित भएको जानकारी दिए । ‘आज सकारात्मक छलफल भएको छ । संसद्को बजेट अधिवेशन जारी छ, संसद्लाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमा छलफल भयो,’ उनले भने ।

उनका अनुसार बैठकमा सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई छिटो टुंगामा पु¥याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्नेलगायतका विषयमा छलफल भएको थियो । संसद्का विषयगत समितिहरू गठन गर्न बाँकी रहेको भन्दै सत्यनिरूपणसम्बन्धी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्ने आवश्यकता रहेको विषयमा बैठकमा छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका उपनेता सुवास नेम्वाङ, माओवादीका मुख्य सचेतक हितराज पाण्डे सहभागी थिए ।