काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।
यस्तै केही प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यसैगरी आज राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाले देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्च आवश्यक उपाय अपनाउन सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ५१ मिनेट र सूर्यास्त साँझ ५ बजेर १५ मिनेटमा हुनेछ ।
























