राउटे समुदायमा संकट, मृत्युदर बढ्यो

काठमाडौँ । लोपोन्मुख जातिका रुपमा रहेको राउटे समुदायमा मृत्यु दर तीव्र बन्दै गएको छ । बिहीबार मात्रै राउटे समुदायकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिबहादुर शाहीकी १२ वर्षीया छोरी दुर्गा रहेकी छन् । मृतक बालिका एक महिनादेखि बिरामी परेकी थिइन् ।

गत २३ जेठ यता यस समुदायमा विभिन्न उमेर समूहका ९ जनाको मृत्यु भएको छ । जेठ २३ गते राउटे समूदायका जेष्ठ सदस्य ९१ वर्षीय कणर्बहादुर शाहीको मृत्यु भएको थियो ।

त्यसयता ६६ वर्षीय महामुखिया महिनबहादुर शाही, तुल्सी शाही, शान्ति शाही, सिमल शाही, भद्रबहादुर शाही, पाँच महिने बालिका बालकुमारी शाही र एक महिने बालक भैरव शाहीको मुत्यु भएको छ ।

बालिकाको मृत्यु भएपछि दैलेखको भैरवी गाउँपालिका ४ मा बसोबास गर्दै आएका राउटेहरू शुक्रवार दैलेखकै चामुण्डाविन्द्रासैनी नगरपालिका ४ को सईयातडामा बसाइँ सरेका छन् ।

मान्छेको मृत्युु भएपछि बसाइँ सर्ने परम्परा यो समुदायमा छ। दुई वर्षयता अस्वस्थ खानपिन र जीवनशैलीका कारण राउटेको जनसंख्या घट्दै गएको छ । अब राउटे समुदायको जनसंख्या एक सय ३७ मात्रै रहेको छ ।