ECAN को केन्द्रीय कोषाध्यक्ष पदका लागि उमा खड्का पाठकको उम्मेदवारी घोषणा

ECAN को केन्द्रीय कोषाध्यक्ष पदका लागि उमा खड्का पाठकको उम्मेदवारी घोषणा

नेपाल शैक्षिक परामर्श संघ (ECAN) को केन्द्रीय कोषाध्यक्ष पदका लागि उमा खड्का पाठकको उम्मेदवारी घोषणा

काठमाडौं, पौष २८ । नेपाल शैक्षिक परामर्श संघ (ECAN) को आगामी केन्द्रीय निर्वाचनमा केन्द्रीय कोषाध्यक्ष पदका लागि उमा खड्का पाठकले औपचारिक उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल ECAN को केन्द्रीय समितिमा केन्द्रीय सदस्यको भूमिकामा रहनुभएकी पाठकले संस्थाको आर्थिक व्यवस्थापनलाई पारदर्शी र प्रणालीगत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पाठकले विगत लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय रहनुभएको छ । ECAN मा एक कार्यकाल कार्यसमिति सदस्यको रूपमा काम गरिसकेकी उहाँले हाल CSR विभाग तथा ECAN USA विभागको जिम्मेवारी सम्हाल्दै संस्थागत सुदृढीकरण, सामाजिक उत्तरदायित्व र आर्थिक अनुशासनमा योगदान पुर्‍याउँदै आउनुभएको छ । उहाँले जारी गरेको उम्मेदवारी घोषणापत्रमा भनिएको छ, “कोषाध्यक्षको जिम्मेवारीमा निर्वाचित भएमा, ECAN को आर्थिक व्यवस्थापनलाई अझ पारदर्शी, उत्तरदायी र प्रणालीगत बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गर्दछु ।”

उम्मेदवार पाठकले संस्थाको आम्दानी–खर्चलाई सदस्यहरूसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्ने, आर्थिक निर्णयहरूलाई नीतिगत आधारमा लिने तथा ECAN लाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने प्राथमिकता दिने बताउनुभयो । साथै, केन्द्र र शाखाहरूबीच आर्थिक समन्वय मजबुत बनाउने, सदस्यमैत्री नीति विकास गर्ने, CSR कार्यक्रम विस्तार गर्ने र ७०० भन्दा बढी सदस्यहरूको हितमा स्रोतसाधन परिचालन गर्ने अठोट व्यक्त गर्नुभएको छ ।

पाठकले ECAN लाई विश्वसनीय, अनुशासित र सुशासनयुक्त संस्था बनाउन कार्यसमितिसँग सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले सम्पूर्ण सदस्यहरूबाट विश्वास, साथ र मतको अपेक्षा गर्नुभएको छ ।