काठमाडौं, पुस २६ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी केन्द्रीय निर्वाचनका लागि नवराज केसीले केन्द्रीय महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। यही पुस २८ गते हुने इक्यानको केन्द्रीय निर्वाचनलाई लक्षित गर्दै केसीले संस्थागत सुदृढीकरण, व्यवसायिक हित र रणनीतिक नेतृत्व निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
जीआईईसी एजुकेशनका प्रबन्ध निर्देशकसमेत रहेका केसीले इक्यानका सदस्यहरूको व्यवसायिक हित रक्षा, शाखाहरूको स-empowerment र संस्थागत एजेन्डालाई स्थापित गर्ने दायित्व बहन गर्ने बताए। ‘महासचिव पद केवल औपचारिक जिम्मेवारी होइन, सदस्यहरूको प्रत्यक्ष सहभागिता र संस्थागत सुधारसँग जोडिएको छ,’ उनले भने, ‘व्यवसायिक मर्यादा, पारदर्शिता, नैतिक जिम्मेवारी र मजबुत इक्यान निर्माणमा म प्रतिबद्ध छु।’
केसीले नेपालमा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र दीर्घकालीन रूपमा सशक्त बनाउने अभियानमा लामो समयदेखि क्रियाशील रहेको उल्लेख गर्दै भने, ‘मेरो सक्रियता र इमानदारीतालाई इक्यानियनहरूले मूल्यांकन गर्नुहुनेछ। म घमण्ड वा लोभले होइन, निःस्वार्थ सेवाको भावनाले अगाडि बढ्न चाहन्छु।’
महासचिव पद पाए आगामी दुई वर्षमा सम्पूर्ण इक्यानियनहरूको मन जित्ने गरी कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दै केसीले साथ, सहयोग र अमूल्य मतको अपेक्षा गरेका छन्।
उनले उम्मेदवारीसँगै निम्न एजेन्डा प्रस्तुत गरेका छन्:
-
इन्गेजमेन्ट तथा ट्रेनिङ कार्यक्रमहरूमा इक्यानका सबै सदस्यहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय इभेन्टहरूमा रोटेसन मोडेलमा अवसर प्रदान गर्ने।
-
पिकनिक र फेयरभन्दा बाहिर निस्केर सदस्यहरूलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरू योजना बनाउने।
-
एकजुट र बलियो इक्यान निर्माणमा शतप्रतिशत प्रयास गर्ने।
-
डिजिटल प्लेटफर्ममार्फत समस्या राख्ने र २४ घण्टाभित्र प्रतिक्रिया दिने प्रणाली स्थापित गर्ने।
-
सदस्यहरूलाई कठिनाइमा सहयोग गर्ने पारदर्शी क्राइसिस म्यानेजमेन्ट फन्ड व्यवस्थापन गर्ने।



























