पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार साँझ ७ दलीय गठबन्धनको समर्थनमा दाहाललाई मुलुकको ४४ औं प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।

दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गर्न नेकपा एमाले, स्वतन्त्र पार्टी, राप्रपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीका १६६ जना सांसदको हस्ताक्षरसहित दाहालले दाबी पेश गरेका थिए ।

दाहाल यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए। ।

नव नियुक्त प्रधानमन्त्री दाहालको शपथ भने भोलि अपरान्ह ४ बजेका लागि तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री दाहालले भोलि नै मन्त्रिपरिषद विस्तार गर्ने बताइएको छ ।