सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते

काठमाडौं । सरकारले आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम यही जेठ ५ गते ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सभामुख देवराज घिमिरेसँगको भेटमा जानकारी दिएका हुन् ।

आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभामुख घिमिरे प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । सो भेटमा संसद् बैठक, सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराएका छन् ।

संसद् सञ्चालनका लागि सभामुख घिमिरेले सबै दलसँग समन्वय र सहकार्यको प्रयास गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले सह्राना पनि गरेका थिए । आजबाट संसदीय समितिहरुको बैठक सुरु भएपछि संसद्ले लय समातेको भन्दै उनले संसदमा विचाराधिन विधेयकहरु टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको पनि बताएका थिए ।

यसैगरी सभामुख घिमिरेले संसद सचिवालयले पनि नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको जानकारी दिएका थिए ।

सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि उनले आभारी व्यक्त गरेका थिए । तर सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको गुनासो सांसदहरुले गरेको जानकारी गराउँदै उनले यो कुरालाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए ।