बलात्कारपछि हत्या गरी फरार रहेका २ जना १६ वर्षपछि पक्राउ

सुनसरी  । १६ वर्षअघि बलात्कारपछि हत्या गरेर फरार भएका दुई जना पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका–१२ की २५ वर्षीया ललिता राईलाई बलात्कारपछि  हत्या गरेर १६ वर्षदेखि फरार रहेका दुई जना पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा धनकुटा शहीदभूमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राईलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार शहिदभुमी गाउँपालिकाबाट पक्राउ गरी उनीहरूलाई जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लगिएको थियो । जसअनुसार १० दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान अगाडि बढाइएको छ ।

गत २०६४ मंसिर २३ गते धरानको बलभद्रेश्वर अरुणोदय धर्मशालामा लगी ललितालाई पालैपालो बलात्कार गरेको तर ललिता चिच्याउन थालेपछि पोल खुल्ने डरले हत्या गरेर फरार भएको दुवै जनाले स्वीकार गरेको प्रहरीले जनाएको छ ।