पुराना दलहरु आफ्नो स्वार्थमा मात्र रमाएपछि नयाँ पार्टीको उदय भयो

जहाँनिया राणाशासन, निर्दलिय पन्चायती व्यवस्था , राजतन्त्रको अन्त्य गर्दै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको डेढ दशक बितिसकेको छ । आज यो देश तिनै मान्छेले नेतृत्व गरेका छन् जसले यो व्यवस्था परिवर्तनका निमित्त आफ्नो जीवन समर्पित गरेका छन् ।

देशलाई एउटा उचाइसम्म पुर्‍याउनको लागि उनीहरूको देन अत्यन्तै स्थुल रहेको छ । व्यवस्था परिवर्तनका खातिर लागेको नेतृत्व तहका यी व्यक्तिहरु व्यवस्था परिवर्तन गरेपछि त्यही पुरानो संघर्षको ब्याज खाएर सत्ताको वरिपरि लिप्त भएर बसेको कटु सत्य हो ।

समाज गतिशील छ , यसर्थ समाज र रास्ट्रको आबश्यकता सदैव एउटै हुँदैन । कुन समयमा समाजले , देशले ,नागरिकले के खोजेको छ त्यो कुरा आत्मसाथ गर्न सकिएन भने नेतृत्वको ओरालो यात्रा यहींबाट सुरु हुन्छ । पुरानोको स्थान नयाँले लिने यो प्राकृतिक नियम हो । गणतन्त्रको स्थापना भएपछि आम नागरिकमा एउटा आसाको किरण झुल्केको थियोे । तर त्यो आशा निरासामा परिणत भयो । यसको अर्थ गणतन्त्रको स्थापनापछि केही नभएको भन्ने होइन तर जुन गतिमा , एउटा निश्चित समयवधिमा जति विकासको पथमा यो रास्ट्र अगाडि बढनु पर्ने हो त्यो हुन सकेन।

दल र दलका नेता आफनो स्वार्थको रोटी सेक्न मात्र तल्लीन हुने यो विकराल प्रवृत्ति देखेर आम मानिसहरूमा ठूलो वितृष्णा छाएको छ । फलस्वरूप गत वर्षको मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन र भर्खरै सम्पन्न भएको उप-निर्वाचनको परिणामले केही नयाँ पार्टीका नयाँ अनुहारहरुलाई जन्मायो । यस नयाँ अनुहारले केही गर्छन् वा गर्दैनन् त्यो आफनो ठाउँमा छ तर बहुसंख्यक नागरिकले परिवर्तनको अपेक्षा भने जरुर गरेको भान हुन्छ ।

हिजोका दिनमा निरंकुशता , शोषण , दमन , बेतिथि , विसङ्गति , उत्पीडन, खराब प्रवृत्तिका विरुद्धमा लडेर आएका नेतृत्व तहका तिनै व्यक्तिहरु सत्ताको भर्याङ चढ्ने बित्तिकै आफै बेतिथिको जालो बुनेर कसरी बस्न सक्छन् रु हामीले गलतका विरुद्ध , गलत प्रवृत्तिको विरुद्धमा ठूलो सङघर्ष गरेर आएको हामीले पनि सत्तामा बसेर त्यही गर्न थाल्यौं भने हामी विरुद्ध पनि सङघर्ष हुन्छ भन्ने कुराको दुरगामी चिन्तन नेतृत्व तहमा नभए कै हो त ? कि सत्ता र शक्तिको मोहले उन्माद पलाएको हो । यसैले भुलाएको हो ? लोकतन्त्रको मूलभूत विषय समानता र स्वतन्त्र हो फगत यो निर्वाचनमा मताधिकार मात्र होइन । निर्वाचनमा पैसाको खोलो बगाएर जित्ने र जितेर गएर सांसद ,मन्त्री बन्ने देशको नेतृत्व गर्ने कुरा एउटा व्यक्तिको लागि यो ठूलै उपलब्धि होला तर यो समाजले , देशले ,यस देशका नागरिकले यसबाट के पाउनेछन् , कस्तो अनुभूति गर्नेछन् त्यो महत्त्वपूर्ण कुरा हो । गणतन्त्र स्थापनापछि यो देशले धेरैवटा सरकार पायो तर त्यसले दिने उपलब्धि भने नगण्य मात्र रहयो । चुनाव कसरी जित्ने र जितेर कसरी सरकारमा पुग्ने भन्ने मनोभावनाबाट अग्रसर हुने प्रवृत्ति छ ।

आफनो पदलाई जिम्मेवारी र जनता प्रतिको उत्तरदायित्व भन्दापनि आफनो स्वार्थमा केन्द्रित हुने प्रचलन छ । चुनाबताका घोषणापत्र राम्रो बनाउने , सरकारका निति तथा कार्यक्रम राम्रो बनाउने तर त्यसको कार्यान्वयन नहुने त्यो खेस्रा केवल कागजी पानामा सिमित हुने गरेको छ । सत्ताइस वर्ष जेलजीवन बिताएका दक्षिण अफ्रिकाका प्रथम रास्ट्रपति नेल्सन मण्डेला एक कार्यकाल मात्र रास्ट्रपति बने , आधुनिक सिंगापुर निर्माता लि क्वान यु भष्टचारलाई अत्यन्तै कडाइ गरी देश र जनतामा समर्पित भएर समृद्ध मुलुक बनाए , छिमेकी देश चीनमा सि जिनपिङ्को आवागमन भए देखि नै जनमुखी कार्यमा लागिपरेका छन् ।

गरिबी , बेरोजगारी , असमानता र कृषिको आधुनिकीकरणको लागि व्यापक ढंगले लागि परेका छन् । तर हाम्रो देशमा नेतृत्व तहमा पुगेका नेतृत्वहरु , पार्टीहरु एकले अर्कोलाई आरोप प्रत्यारोप गर्दै सत्ताको स्वाद चाखेर बसिरहेका छन् । मुलुकलाई विकास , समृद्धि , सुशासनको मार्गमा हिँडाउने प्रतिष्पर्धा दलहरुबीच भएको भए सायद यो मुलुक यतिबेलासम्म उन्नत बनिसकेको हुन्थ्यो ।

सरकार बनाउन भागबन्डा मिलाउन सधैं व्यस्त रहने दलहरू -दलका नेताहरू समाज र देशलाई अगाडि लैजाने सवालमा बहस गरेको भए दलप्रतिको , राजनीति प्रतिको दृष्टिकोण यस्तो हुने थिएन जस्तो आज छ ।

देशमा रहेको बिद्ममान बेरोजगारी , गरीबी , असमानताको न्यूनीकरण गर्दै यसको अन्त्यको लागि सरकारको कुनै पहल कदमी , ठोस योजना छैन । कुल जनसंख्याको साठ्ठी प्रतिशत भन्दा बढी जनसंख्या कृषिमा आश्रित छ तर कृषिमा आधुनिकीकरण , व्यवसायीकरणको, औद्योगिकरणको अभावका कारण वर्षेनी कृषिजन्य सामग्री लगायत अन्य विविध वस्तुको आयातको लागि अरबौं रखरबौं बाहिरिने गरेको छ ।

व्यापार घाटा दिनप्रतिदिन बढेको छ , अध्यन पछिको रोजगारी सुनिश्चितता नभएकाले वर्षेनी लाखौं विद्यार्थी विदेशीन विवश छन् , शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापारीकरण मौलाउदो छ , सार्वजनिक सेवा लिनको लागि घण्टौं लाइनमा बस्नुपर्ने , धेरै दिन धाउनु पर्ने अलवा जन (सरोकारका विविध विषयमा राज्य मौन छ । मुकदर्शक बनेर बसेको छ ।

भ्रष्टाचार , अनियमितता , दण्डहीनता , कानुनी शासनको धज्जी उडाएर विधि ,विधान र सिद्धान्तलाई तिलाञ्जली दिएको अहिलेको नेतृत्वको यो कार्यशैलीले आम मानिस वाक्क र दिक्क बनेका छन् । यो भद्रगोल अवस्था आउनुमा नेतामात्र होइन आम नागरिक पनि उत्तिकै जिम्मेवार छन् किनकि यही समाजले यही नागरिकले नेता बनाउने हो । यसर्थ एउटा सक्षम नागरिकले एउटा सक्षम जनप्रतिनिधि छनोट गर्न सकेको दिन देश प्रगतिको दिशातर्फ स्वतस् लम्किने छ ।

पछिल्लो समयमा आम नागरिकको चेतनाको स्तर जसरी बढ्दो छ त्यही अनुपातमा राजनीतिक दल र दलका नेताले सोही अनुसार दल र आफुलाई रुपान्तरण नगर्ने हो भने, जन-आबश्यकता , चाहाना , भावना अनुरुप प्रस्तुत नहुने हो भने अस्तित्व संकटमा पर्ने निश्चित छ । व्यवस्था परिवर्तन गर्न अब्बल साबित भएको अहिलेको नेतृत्व पंक्तिले आफुलाई समयानुकूल परिमार्जन गर्न सक्नुपर्दछ । युग सुहाउँदो हुनुपर्दछ । होइन भने परिस्थिति भयावह हुन सक्छ ।

जनताबाट निर्वाचित जनप्रतिनिधि जनताको माग , आबश्यकता पूर्तिको लागि तन ,मन वचनले प्रतिवद्ध भएर लाग्नुको विकल्प छैन । आफू र आफनो दललाई ठिक देखाउन अर्को दल र दलका नेतालाई होच्याउने , अस्वस्थ प्रतिष्पर्धा गरेर , मिठो भाषण गरेर रजगज गर्ने यसकै सेरोफेरोमा घुम्ने हो भने अब यसको जवाफ आम नागरिकले अबश्य दिनेछन् । यसर्थ मुलुकको विकास , समृद्धि , सुशासनको प्रत्याभूती आम नागरिकलाई दिलाउन , लोकतन्त्रको संस्थागत गर्न , कानुनी राज्यको स्थापना गर्न नेतृत्वले आफनो मूलभूत जिम्मेवारी ठानेर अगाडि बढनु पर्दछ होइन सधैंभरि यसैगरी जनतालाई ढाँट्छु भन्ने मानसिकता छ भने नेतृत्वले बुझ्न जरुरी छ नेताले धेरै पटक जनतालाई ढाँटे अब असक्षम नेतालाई ढाँटने पालो आम नागरिकको हो ।

सक्षम मान्छेलाई चुन्ने काम आम जनताको हो । राजनीतिमा अहिलेको नयाँ अनुहार आउनुमा जनता कम र नेता नै बढी जिम्मेवार छन् ।