काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधान र व्यवस्थामाथि धावा बोल्ने काम भइरहेको बताएका छन् । बुधबारदेखि सुरु पार्टीको केन्द्रीय कमिटीको सातौं बैठक उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अहिले प्रतिगामी शक्तिहरूले टाउको उठाउन थालेको टिप्पणी गरे ।
विगतमा संसद् विघटन हुँदा आफूहरूले संविधान बचाएको स्मरण गर्दै नेपालले अहिले पनि आफूहरु गम्भीर बन्नुपर्ने बताए। ‘प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन् । देशविदेशका विभिन्न शक्तिहरुले षडयन्त्रका तानाबाना बुनिरहेका छन्,’ नेपालले भने, ‘हामी फेरि गम्भीर बन्नुपर्ने अवस्था आएको छ।’
नेपालले २००६ सालामा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको उत्तराधिकारी आफ्नो पार्टी भएको दाबी गरे । कम्युनिष्ट पार्टीको वास्तविक उत्तराधिकारी भएकाले आफूहरूले १० औं महाधिवेशन गर्न लागेको उनको भनाइ थियो ।




















