नेपाल बहुआयामिक चुनौतीहरुको भूमरीमा परेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असंलग्न आन्दोलन आपसी सहयोगलाई प्रगाढ बनाउने थलो भएको बताएका छन्। असंलग्न आन्दोलन (नाम)को १९ औँ शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा उनले आपसी समझदारी अभिवृद्धि गरी विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्नेमा दिनुपर्ने विषय उठाएको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री दाहालले भने,‘करिब सात दशक अगाडि दुई महाशक्तिबीचको असहज शीतयुद्धको माहोलमा एसिया र अफ्रिका महादेशका नेताहरूले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका आधारभूत मूल्यहरू बाङडुङ सम्मेलनमार्फत प्रतिपादन गरेको स्मरण गर्दै यो असंलग्न आन्दोलनले कैयौ मुलुकहरूको राजनीतिक स्वतन्त्रताको अभिवृद्धि, औपनिवेशिकताको अन्त्य र सार्वभौमसत्ताको संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरालाई जोड दिएँ। त्यसैगरी, असंलग्न आन्दोलन आपसी सहयोगलाई प्रगाढ बनाउने थलो हो। यसबाट आपसी सहयोग तथा समझदारी अभिवृद्धि गरी विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्नेमा जोड दिएँ।’

उनले विश्वका विकासोन्मुख मुलुकहरूको आर्थिक विकास र समृद्वि प्राप्त गर्नका लागि जोड दिएको उल्लेख गरे ।

‘हाम्रो सम्मानित र मर्यादित जीवनका लागि आवश्यक दिगो विकासका लक्ष्यहरुको प्राप्ति असम्भवप्रायः देखिएको छ। नेपाल आफै अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहे पनि विभिन्न बहुआयामिक चुनौतीहरुको भूमरीमा परेको छ।’ प्रधानमन्त्री दाहालले भने, ‘अतिकम विकसित मुलुकहरुलाई विकास साझेदारहरुको बलियो साथ र सहयोगको आवश्यकता रहेको परिप्रेक्ष्यमा असंलग्न आन्दोलनले दिगो विकासका लक्ष्यहरू २०३०, पेरिस सम्झौता र अन्य अन्तर्राष्ट्रिय रूपमा सहमति भएका विकासका लक्ष्यहरू समयमै हासिल गरी विश्वका विकासोन्मुख मुलुकहरूको आर्थिक विकास र समृद्वि प्राप्त गर्नका लागि जोड दिनुपर्दछ भन्ने विषय जोडदार रूपमा उठाएको छु।’

उनले संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय व्यापार संरचना पनि विकासोन्मुख देशहरूको हित अनुकूल हुने गरी सुधार गर्न असंलग्न आन्दोलनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको उल्लेख गरे ।