बजेटमा निजगढ विमानस्थल बनाउन उच्चतम प्राथमिकता दिइयोस्ः माधव नेपाल

काठमाडौं । सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउनका लागि आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले सो विमानस्थलको कामलाई अगाडि बढाउनका लागि सरकारले संसदमा पेश गरेको आगामी आवको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा उल्लेख नगरिएको भन्दै अर्थमन्त्री डा। प्रकाशशरण महतप्रति असन्तुष्टि समेत व्यक्त गरे ।

विमानस्थल बनाउन पहल गर्ने कुरामा आफू सधैंभरी लागिपरिहेको बताउँदै नेता नेपालले भने,‘पर्यटनसँग पनि जोडिएको, नागरिक उडड्यनसँग पनि जोडिएको र मलाई पनि सधैंभरी त्यसले घच्घच्याई रहेको त्यो निजगढ विमानस्थलको कुरा कतै हराउने हो कि भन्ने मलाई शंका पनि, डर पनि लाग्न थालेको छ । कति चोटी मैले कोशिस गरेँ । अहिलेकोभन्दा पहिलेका प्रधानमन्त्रीजीलाई यो शिलान्याश गरौं भनेर यो समितिले पनि त्यहाँको अध्ययन गरेर अनेकौं खालको बाधा, अवरोधहरुलाई पन्छाएर बल्लबल्ल निजगढमा विमानस्थल बनाउन उपयुक्त हुन्छ भनेर निष्कर्षमा पुग्ने काम भएको थियो। र, त्यसलाई उच्चतम प्राथमिकता दिइयोस्।’

राष्ट्रिय बजेटमा पनि, सरकारको नीति तथा कार्यक्रममा पनि र सो समितिको काममा पनि ध्यान दिइयोस् भन्दै त्यसलाई समावेश गर्न पनि आफुले विषेश जोड दिएको उनले बताए । अध्यक्ष नेपालले मुलुकको गेम चेन्जर प्रोग्रामको रुपमा रहेको सो विमानस्थललाई अघि बढाउन संसदीय समितिहरुलाई पनि विशेष ध्यान दिन आग्रह गरे।