काठमाडौं । राष्ट्रियसभा अन्तर्गत राष्ट्रिय सरोकार समितिको बैठक जारी छ । बैठक बिहीबार बिहान ११ बजे बस्न लागेको संसद् सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभाकक्षमा बस्ने बैठकमा नेपाल–भारत शान्ति तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय, नेपाल–भारत जलस्रोत सम्बन्ध आदि विषयमा छलफल हुने स्रोतले बनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘आउँदो जेठ १७ गते छिमेकी मुलुक भारत भ्रमणमा जाँदैहुनुहुन्छ । भ्रमणमा लामो समयदेखि उठ्दै आएका यी विषय पनि समेट्न विज्ञहरूले सुझाव दिइरहेका बेला समितिको बैठक बस्न लागेको हो । आजको छलफलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय पनि निम्त्याइएको छन् ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीले पनि प्रधानमन्त्री दाहाल १७ गतेदेखि भारत भ्रमणमा जाने लगभग निश्चित भएको बताएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री दाहाल जेठ १७ गते भारत जाने र १८ गते समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि उहाँले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नुहुनेछ । जेठ १९ गते उहाँ मुम्बई जाने र २० गते स्वदेश फर्किने गरी भ्रमणको तालिकालाई अन्तिम रुप दिने तयारी भइरहेको छ ।




















