आज मोरङ ३ प्रदेशसभा ‘क’ मा काँग्रेस उम्मेदवारको मनोनयन दर्ता हुने

विराटनगर । मोरङ ३ प्रदेशसभा ‘क’ मा बिहीबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा बिहीबार फेरि उम्मेदवारको मनोनयन दर्ता गरिन लागिएको हो । मनोनयन दर्ता कांग्रेसबाट मात्र हुनेछ । यसअघि मनोनयन दर्ता भएर चुनावी प्रचारमा रहेका उम्मेदवारहरुको उम्मेदवारी कायमै रहनेछ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ ।

उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची पनि विहीवार नै अपरान्ह ४ बजेभित्र प्रकाशित हुनेछ । उम्मेदवारको विरोधमा अपरान्ह ४ बजेपछि ५ बजेसम्म सूचना दिन सकिनेछ ।

उम्मेदवारको नामावली शुक्रबार फिर्ता लिन पाइनेछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबार अपरान्ह ३ बजेसम्म हुनेछ। उम्मेदवारलाई कात्तिक २५ गते अपरान्ह चिन्ह दिइने आयोगले जनाएको छ ।