काठमाडौं । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच वार्ता भएको छ । वार्ताका क्रममा सरकार र नेकपा बीच भएको तिनबुदे सहमति कार्यान्वयन गर्ने विषयमा गम्भीर छलफल भएको हो ।
गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा बिहीबार नेकपाका प्रवक्ता खड्क बहादुर विस्वकर्मा (प्रकाण्ड )र सरकारको बिचमा वार्ता भएको हो ।
वार्तामा नेकपासँग सम्बन्धित मुद्दा चाडो टुंग्याउन अहिलेसम्म भएका प्रगतिबारे कुराकानी भएको गृह मन्त्रालयले जनाएको छ। नेकपासँगका मुद्दा टुंग्याउन गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह प्रशासनमै रहेका मुद्दा प्रशासनिक प्रक्रिया र राजनीतिक तवरबाट टुंग्याउने र अदालती प्रक्रियामा पुगेका मुद्दालाई टुंग्याउन वर्तमान कानुनले अफ्ट्यो पर्ने भएमा संशोधन गरेर भए पनि टुंग्याउने निर्णय गरेको थियो ।
प्रवक्ता विश्वकर्माले आफ्नो पार्टीसँग भएको सम्झौता कार्यान्वयको विषयमा जिज्ञासा राखेका थिए। जवाफमा गृहमन्त्री खाणले सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए ।
‘सरकारको निर्णय कार्यान्वयन गर्न प्रतिबद्ध छौं। केही प्रशासनिक तवरबाट हुने निर्णय भइसकेका छन् । अदालती प्रक्रियामा गएका मुद्दाहरूबारे पनि प्रक्रिया अगाडि बढिसकेको छ। निर्णयअनुसार कार्यान्वयन हुन्छ, उनले भने ।
भेटवार्तामा निवर्तमान कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव विनोदप्रकाश सिंहसमेत सहभागी रहेका थिए ।



















