काठमाडौं। जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईबीच सम्बन्ध चिसिएको छ । मंसिर–४ को संघको चुनावमा एमालेसँग हातमिलाएको जसपाले अब सहकार्यलाई अगाडी लैजाने कि तोड्ने भन्ने विषयले नेताहरुबीच मतविभाजन पैदा भएको अवस्था छ ।
यता, जसपा अध्यक्ष यादपले सोमबार विराटनगरबाट काठमाडौं आउने क्रममा एमालेसँगको सहकार्यको औचित्य समाप्त भएको अभिव्यक्ति दिएका थिए । यादवको अभिव्यक्तिले अब जसपा सरकार गठनमा सत्ता गठबन्धनसँग नजिकिएको रुपमा बुझिएको छ ।
सप्तरीबाट प्रतिनिधिसभामा उम्मेदवार रहेका यादप पराजित भए । यादवको बुझाईमा एमाले–जसपा सहकार्यमा एमालेलाई नै बढि लाभ भएको छ । त्यस्तै, जसपा भित्रकै कतिपय नेताहरुले आफूहरुको सहकार्य चुनावी प्रयोजनको लागि मात्रै भएकोले अब चुनाव सकिएपछि सहकार्यको औचित्य समाप्त भएको बताउन थालेका छन् ।
तर, वरिष्ठ नेता राई भने एमालेसँग नै मिलेर अघि बढ्नुपर्ने पक्षमा छन् । सोही कारणले जसपा विभाजन हुने खतरा त पैदा हुने होइन रु भन्ने प्रश्न उठ्न थालेको हो ।



















