नेपाली कांग्रेसभित्र राष्ट्रपतिका लागि हानथाप

काठमाडौं । नेपाली कांग्रेसभित्र राष्ट्रपतिका लागि हानथाप देखिएको छ । कांग्रेसका वरिष्ठ नेताद्वय रामचन्द्र पौडेल र गोपालमान श्रेष्ठ राष्ट्रपतिका आकांक्षी देखिएका छन् । प्रधानमन्त्रीमा दाबी गरेका पौडेल संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवाको प्रस्तावक बसे ।

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित भएपछि अहिले पौडेल प्रधानमन्त्रीको रेसबाट स्वतः बाहिरिएको अवस्था छ । देउवाले पौडेल र श्रेष्ठ दुवै जनालाई राष्ट्रपतिको आश्वासन दिएको कांग्रेसवृत्तमा चर्चा छ ।

कांग्रेसले समानुपातिक सांसद छनोट गर्दा जनजाति कलस्टरको १ नम्बरमा रहेका श्रेष्ठ छुटेका थिए । कांग्रेसका ३२ जना समानुपातिक सांसदमा तीन पुरुषले मात्र अवसर पाउँदा सहमहामन्त्री जीवन परियार, प्रवक्ता प्रकाशशरण महत र नेता विमलेन्द्र निधिको स्थान सुरक्षित भएको थियो । त्यतिबेला देउवाले आफूलाई आउने अपर्च्युनिटीमा फर्स्ट प्राइरिटी दिन्छु भनेको श्रेष्ठको दाबी छ ।

उनी भन्छन्, ‘सभापतिले तपाईको आवश्यकता अन्तै छ । आउने अपर्च्युनिटीमा फर्स्ट प्रायोरिटी दिन्छु भन्नुभएको छ ।’ तर कांग्रेस संसदीय दलको निर्वाचनमा देउवाका प्रस्तावक बसेका पौडेललाई भावी राष्ट्रपतिको रुपमा हेरिएको छ ।

१४ औं महाधिवेशनमा तटस्थ बसेर देउवालाई सहयोग पुर्याएका पौडेल अहिले प्रस्तावक नै बने । संसदीय दलमा गगन थापा समूहका केही सांसदको मत देउवालाई दिलाउन पौडेलले भूमिका खेलेका थिए । प्रधानमन्त्रीको आकांक्षा राखेका पौडेलले राष्ट्रपति पदको आश्वासनमा देउवाको प्रस्तावक बसेको कांग्रेसका एक पदाधिकारी बताउँछन् ।

उनले भने, ‘गठबन्धनभित्र कांग्रेसले राष्ट्रपति पाउँदा रामचन्द्र दाइ हुनेमा कुनै शंका रहेन । प्रधानमन्त्री बन्छु भन्दै हिँड्नु भएको उहाँ त्यसै प्रस्तावक बस्नुभएको छ र ? उनका अनुसार देउवामाथि पनि पौडेललाई न्याय गर्नुपर्ने दबाब छ ।