काठमाडौं । हरेक वर्ष २५ डिसेम्बरमा क्रिसमस डे पर्व मनाउने चलन छ । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् ।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।
यस अवसरमा राष्ट्रिय ख्रिष्टियन महासंघले विभिन्न कार्यक्रम आयोजना गरेको छ । क्रिसमसका अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरालगायत स्थानमा विशेष रौनक छ । क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिकस्थल सजाइएको छ ।
विक्रम संवत् ०६२–६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ ।
नेपाल धर्मनिरपेक्ष हुनुअघि देशभर छरिएर रहेका ख्रीष्टियन समुदायले क्रिसमस पर्वलाई विशेषगरी विभिन्न मण्डली ९चर्च० र ख्रीष्टियन संघसंस्थाभित्र नै मनाउँदै आएका थिए । हाल नेपालभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रिष्टियन समुदाय रहेको अनुमान छ ।
नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिष्टियन महासंघका पदाधिकारीहरु बताउँछन् । क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदासमेत दिएको छ ।
























