काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन्।
मन्त्री भएपछि गृह मन्त्रालयमा बसेको पहिलो केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले शितलहर, प्राकृतिक प्रकोप र बढ्नसक्ने कोभिड–१९ सङ्क्रमणतर्फ ध्यान दिँदै आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभएको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए ।
सचिव सिंहका अनुसार गृहमन्त्री लामिछानेले आन्तिरिक शान्ति सुरक्षा र आपराधिक गतिविधि नियन्त्रण गर्ने विषयमा गम्भीर हुन निर्देशन दिएका छन् ।
गृहमन्त्री लामिछाने कै अध्यक्षतामा उक्त बैठक बसेको थियो । बैठकमा गृहसचिव सिंह, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथी सरोजप्रताप राणा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए । सो क्रममा उनहरुले गृहमन्त्री लामिछानेसमक्ष सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए ।




















