काठमाडौं । हुसेन तलतको अर्धशतक मद्दतमा विराटनगर सुपर किंग्सले बुधबार पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै नेपाल टी-२० लिगमा पहिलो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा तलतको अविजित ५० रन मद्दतमा विराटनगरले १४० रनको लक्ष्य १७.५ ओभरमै ४ विकेट गुमाएर पुरा गरेको हो । अलराउण्ड प्रदर्शन गरेका तलतले २ विकेट समेत लिएका थिए । पोखराको भने यो लगातार चौथो हार हो ।
अर्जुन साउदले २५, कप्तान आन्द्रे म्याककार्थीले २१ र पृथु बास्कोटाले १५ रन जोडे । विवेक यादव १४ रनमा अविजित रहे ।
पोखराका कुशल मल्ल र शरद भेषावकरले समान २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १९ ओभरमा घटाइएको खेलमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो ।
पोखराका लागि कुशल मल्लले १८ बमा ३ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ३७ रन बनाए । सिद्धान्त लोहनीले १६ र थरंगाले १९ रन बनाए । विराटनगरका लागि हुसेन तलत र राज नन्ननले २-२ विकेट लिए भने नन्दन यादव, आन्द्रे म्याककार्थी र शाहब आलमले समान १ विकेट लिए ।

















